PahiloPost

Jul 23, 2026 | ७ साउन २०८३

विद्युत् चोरी गर्नेहरुबाट आठ लाख असुली



रासस

पाल्पा : विद्युत् प्राधिकरण पाल्पाले विद्युत्को चोरी गरी प्रयोग गर्नेहरुबाट आठ लाख रुपैयाँ असुली गरेको छ। 

वैशाख महिनामा मात्र प्राधिकरण पाल्पाले आठ लाख जरिवाना सङ्कलन गरेको हो। प्राधिकरणले वैशाख महिनामा विद्युत् चुहावट र विद्युत् चोरी नियन्त्रण अभियान सञ्चालन नै गरेको थियो। 

प्राधिकरणले जिल्लाको कसेनी, सोमादी, छहरा, भुवनपोखरी, चिदीपानी, चापपानी र तानसेन नगरलगायतका क्षेत्रमा निगरानी बढाएको थियो। विद्युत् चोरी गरी प्रयोग गर्नेहरुबाट एक लाख ४९ हजारसम्म जरिवाना असुली गरेको हो। 

दुई कुटानी पिसानी उद्योग र १४ घरमा विद्युत् चोरी गरी प्रयोग गरेको विद्युत् प्राधिकरण पाल्पा शाखाका प्रमुख कपिलराज पाण्डेले बताए। विद्युत् तारबाट तानेर मिटरमा नै रेर्कड नदेखिने गरी सिधै बत्ती बालेका हुन्। 

विद्युत् चोरी गर्ने समाजका प्रतिष्ठित व्यक्तिसमेत रहेका छन्। विद्युत् कार्यालयका कर्मचारी शिक्षक, पत्रकार र दलका नेतासमेत विद्युत् चोरी प्रयोग गर्दै आएको प्राधिकरणले जनाएको हो। 

विद्युत् प्राधिकरणले जरिवाना तिरेकाले नाम खुलाउन नमिल्ने जनाएको छ। केही विद्युत् चोरी गर्ने भने पटकपटक जरिवाना शुल्क तिर्दै आएका हुन्। विद्युत् मिटर रिडर उपभोक्ताका घरमा नपुग्दा विद्युत् चोरीका घटना बढेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell