काठमाडौं : विद्यार्थी संगठनहरुले शैक्षिक क्षेत्रमा देखिएको माफियाकरण रोक्न बिहीबार शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई भेटेर तीन दिनको अल्टिमेटम दिने भएका छन्।
नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यालय धोबिधारामा आज बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले यस्तो निर्णय गरेको हो।
नेविसंघका प्रवक्ता युपी लामिछानेले विगतका सहमतिसँगै एक महिनाअघि वर्तमान शिक्षामन्त्रीसँग गरिएको सहमति पालना नभएपछि अल्टिमेटम दिएर आन्दोलनको तयारीमा लागेको बताए।
'शैक्षिक क्षेत्रमा देखिएका विकृति रोक्न विद्यार्थी र अनुगमन निकायले संयुक्त अनुगमन गर्ने र कमजोरी भेटिएका विद्यालयलाई अनुगमनको सात दिनभित्र कारबाही गर्ने सहमति भएको थियो,' प्रवक्ता लामिछानेले भने, 'अहिलेसम्म २५ विद्यालयको अनुमगन भइसकेको छ तर सरकार कारबाहीमा उदासिन देखिएको छ।'
सरकारी उदासिनताका कारण आन्दोलनको कुनै विकल्प नभएको उनले बताए। विद्यार्थी संगठनको संयुक्त बैठकले बुधबार पत्रकार सम्मेलन गरी विद्यालयमा देखिएका विकृतिका विषयमा जानकारी दिने तयारी गरेको छ।
सरकारले भएका ऐन र निर्देशिका कार्यान्वयन गर्न नसक्दा आन्दोलन आवश्यक भएको संगठनहरुले जनाएका छन्।