काठमाडौं : मधेसी मोर्चाले बहिस्कार गरेपछि बसेको अन्य दलहरुको बैठक सकिएको छ।
मुख्यत: आन्दोलनरत मेधसी मोर्चाको नाममा पत्र लेखी प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो वार्ताका लागि आह्वान गरेका थिए। मोर्चाका नेताहरु अनुपस्थित भए पनि सत्तारुढ घटक, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका नेताहरुबीच छलफल भएको थियो।
कांग्रेस नेता महेश आचार्यले सरकारलाई सकारात्मक वार्ताका लागि आफ्नै पार्टीले सुझाव दिएको बताए। ‘अझै पनि औपचारिक वार्ताको वातावरण बनिसकेको छैन,’ उनले भने, ‘अब अनौपचारिक ढंगले भए पनि वार्तालाई निरन्तरता दिनका लागि हामीले सरकारलाई सुझाव दिएका छौं।’
वार्तामा आउन सकारात्मक भए पनि मोर्चाका नेताहरुले अन्तिम समयमा उपस्थित नहुने जानकारी दिएको कानुन मन्त्री अग्नि खरेलले बताए। ‘प्रधानमन्त्रीले ९ बजेका लागि बोलाए पनि मोर्चाकै सहजताका लागि साढे १० बजेलाई सारिएको थियो, अन्तिम समयमा नआउने जानकारी पायौं,’ खरेलले भने, ‘अझै पनि सरकारले वार्ताका लागि सकारात्मक कोसिस राख्नेछ।’
बैठकमा उपस्थित नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले पनि आफूहरुले उपयुक्त समयमा निर्णायक वार्ता गर्नका लागि सरकारलाई सुझाव दिएको बताए।
मार्चाका नेताहरु आउने जानकारी पाएकाले बैठक बसे पनि उनीहरु अन्तिम समयमा नआएको प्रधानमन्त्री ओलीले बैठकमा जानकारी गराएका थिए।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, मातृका यादव, नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशचन्द्र लोहनी, विजयकुमार गच्छदार, सुवास नेम्बाङ, भीव रावल, चित्रबहादुर केसी लगायतका नेताहरु सहभागी थिए।
प्रधानमन्त्री ओलीले ६ बुँदे प्रतिबद्धतासहित पत्राचार गरेर मोर्चालाई वार्ताका लागि डाकेका थिए।