काठमाडौं : राजधानीकेन्द्रित आन्दोलन गरिरहेको संघीय गठबन्धनले आज भक्तपुरमा प्रदर्शन गरेको छ।
भक्तपुरको न्यातपोलमा भएको विरोध सभामा फोरम नेपालका वरिष्ठ नेता अशोक राई, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी, तराई सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, संघीय लिम्बूवान पार्टीका अध्यक्ष कुमार लिङदेन लगायतका नेताहरु सहभागी थिए।
मधेसबाट उक्लिएको मधेसी मोर्चा तथा पहाड र हिमालबाट केन्द्रित जनजातिको फरक भाषा, संस्कृति र पहिरनको ऐतिहासिक संगम गठबन्धनको सौन्दर्य बनेको नेताहरुले बताएका छन्।
सिंहदरबार र बालुवाटार घेराउपछि थप राजधानीकेन्द्रित आन्दोलनमा होमिएको गठबन्धनमा मधेसी, आदिवासी जनजाति, खस, थारु, दलित, महिला, मगरात, खम्बूवान, लिम्बूवान, नेवाः, शेर्पा लगायतका दल, संगठन तथा समुदाय आबद्ध छन्।
संविधान पुनर्लेखन गरी आफ्ना अधिकारलाई सुनिश्चित गराउन जारी आन्दोलनमा सहभागी हुन गठबन्धनले अन्य समूहलाई आह्वान समेत गरेको छ।
संविधानको पुनर्लेखन र कालोबजारी, लोडसेडिङ, मँगही, बेरोजगारीको अन्त्य जस्ता २६ सूत्रीय माग राखेर आन्दोलनरत संघीय गठबन्धनले सोमबार कीर्तिपुरमा सरकारविरुद्ध प्रदर्शन गरेको थियो ।