
काठमाडौँ : खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्चीको परियोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँमा ल्याउन सकिने जनाएको छ।
काठमाडौंमा अहिले दैनिक करिब २६ करोड लिटर पानीको माग भए पनि ८ करोड लिटरमात्र आपूर्ति भइरहेको छ। पानीको अभाव बढ्दै गएपछि सर्वसाधारण काठमाडौँ उपत्यका तथा नजिकका नदी, खहरे, खोला लगायतका स्थानबाट ट्याङ्करमा पानी आयात गर्न बाध्य छन्। जमिनमुनिको स्रोत पनि सुक्दै गएकोले समस्या बढेको छ।
मन्त्रालयका प्रवक्ता शङ्करप्रसाद सुवेदीले करिब एक दशकभन्दा लामो समयदेखि जारी आयोजना अब एक वर्षभित्रमा सम्पन्न गर्ने गरी संरचना निर्माण भइरहेको जानकारी दिए।
मेलम्चीको सुरुङ बलियोसँग निर्माण गर्न सुरुङ क्षेत्रका विभिन्न स्थानमा दक्ष र अनुभवी प्राविधिक जनशक्तिले छिटो र छरितो कार्य गरिरहेको बताए।
मेलम्ची खोलाको पानी काठमाडौं ल्याउन लगभग २६ किमि सुरुङ खन्नुपर्ने हुन्छ। २०७० साउनमा इटालियन कम्पनी सिएमसी र भारतीय कम्पनी डि–रेभेन्नाले सुरुङ निर्माण गर्ने ठेक्का लिएका थिए। कुल १८ महिनाको अवधिभित्र निर्माण कार्य सक्ने प्रतिबद्धतासहितको ठेक्का जिम्मा लिएको सिएमसीले ०७३ वैशाखमा मेलम्चीको पानी काठमाडौं भित्र्याउने सम्झौता गरेको थियो।
राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना निर्माणकार्यमा यस अगाडिको चिनियाँ कम्पनीले पनि समयमा सुरुङ निर्माणकार्य अगाडि बढाउन नसकी बीचैमा छाडेको थियो। त्यसपछि पुनः टेन्डर गरी छानिएको सिएमसी इटालियन कम्पनीको कार्यशैली पनि प्रभावकारी नभएको आयोजनाका एक कर्मचारीले बताए।