काठमाडौं : लामो समयदेखि नाटक मञ्चनमा सक्रिय सर्वनाम थिएटरले मंगलबारदेखि चित्रकला प्रदर्शनीको नियमित कार्यक्रम थालेको छ। ‘कलायान’नाम दिइएको सो प्रदर्शनी नाटकघरमै रहेको सर्वनाम आर्ट ग्यालरीमा सञ्चालन गरिनेछ।
प्रदर्शनीको उद्घाटन गर्दै शिक्षाविद् केदारभक्त माथेमाले सरकारी तवरबाट हुनुपर्ने काम निजी स्तरबाट भएकोमा प्रशंसा व्यक्त गरे।
सर्वनामका निर्देशक अशेष मल्लले कलाका सबै विधा समेटिएको भवन बनाउने सपना पूरा भए पनि कलाको अभाव खट्किएकाले यो कार्यक्रम तय गरिएको बताए। ‘नियमित रुपमा नाटक, कविता, संगीत, नृत्यका कार्यक्रम हुँदै आए पनि चित्रकला प्रदर्शनीलाई जोड्न सकेका थिएनौं, आज त्यो पनि पूरा भएको छ,’ मल्लले भने।
कार्यक्रममा कवि तथा गजलकार बाबु त्रिपाठीले दुई वटा कविता सुनाएका थिए।
कलायानको पहिलो शृंखलाअन्तर्गत एरिना ताम्राकार, नरेन्द्रबहादुर श्रेष्ठ, प्रमिला बज्राचार्य, रमेश खनालका झन्डै डेढ दर्जन पेन्टिङ प्रदर्शनीमा राखिएका छन्। प्रदर्शनी भदौ ११ सम्म चल्नेछ।