PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

नेपाल प्रहरीले गर्‍यो संगीतकार अम्बर गुरुङलाई नगद पाँच लाखसहितको सम्मान



पहिलोपोस्ट

नेपाल प्रहरीले गर्‍यो संगीतकार अम्बर गुरुङलाई नगद पाँच लाखसहितको सम्मान

काठमाडौँ :   राष्ट्रिय गानका सङ्गीतकार अम्बर गुरुङ नसा र पाचन प्रणालीमा समस्याका कारण थलिएका छन्। केहि महिनाअघि भारतको नयाँदिल्ली नजिकैको मेदान्त अस्पतालमा उपचार गराएर फर्किए पनि उनको स्वास्थ्य स्थिति पूरै ठिक हुन सकेको छैन।
 
२०७२ फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उनको उपचार खर्च बेहोर्ने निर्णय गरेको थियो। गुरुङका छोरा राजुका अनुसार सरकारले आफ्नो प्रतिबद्धता पूरा पनि गर्‍यो। त्यसयता गुरुङका लागि विभिन्न सहयोगहरु जुटिरहेका छन्।

'स्वास्थ्यमा धेरै सुधार आएको छ। तर अझै पनि खाना आफै खान सक्नुहुन्न,’ राजुले भने, ‘हामीले खुवाउँदा पनि थोरै खानुहुन्छ।'

आज प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले वरिष्ठ संगीतकार गुरुङलाई बुढानिलकण्ठ नगरपालिका–६ स्थित उनकै निवासमा नगद ५ लाख सहयोग प्रदान गरेका छन्। नगदका साथमा सम्मानपत्र पनि दिइयो।

प्रहरी महानिरीक्षक अर्यालले मुर्धन्य संगीतकारले दिएको योगदानको कुनै रकमसँग तुलना नहुने बताउँदै पूर्ण स्वास्थ्यलाभको कामना गरे।
अर्यालले भने, 'उहाँ र उहाँको परिवारलाई आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोग गर्न नेपाल प्रहरी सधैं तत्पर रहन्छ।'

'गुरुङको विशिष्ट साधनाबाट भविष्यमा नेपाली संगीतको फाँट अझै फराकिलो र समुन्नत बन्दै जाने विश्वास गर्दै' जेठ ५ गतेको बसेको नेपाल प्रहरीको पिसिसी बैठकको निर्णयअनुसार सम्मान गरिएको हो।

आजै गुरुङलाई पोखराको श्री भैरवनाथ संरक्षण संस्थाले 'सर्वज्ञमान विष्णु देवी संस्कृति पुरस्कार' पनि प्रदान गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell