PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

अपरेसन फिस : यसरी परे प्रहरी जालमा अन्तर्राष्ट्रिय कोकिन कारोबारी



सविन ढकाल

अपरेसन फिस : यसरी परे प्रहरी जालमा अन्तर्राष्ट्रिय कोकिन कारोबारी

  • सविन ढकाल -
काठमाडौं : ब्राजिल र दुवईको विमानस्थल हुँदै उनी नेपाल आइपुगेकी थिइन् यमेरिस कामरिन्। भेनेजुयलाकी ४९ वर्षीय उनी गएको वैशाख १५ गते साँझ ६ बजेर २५ काठमाडौं विमानस्थलमा उत्रिइन्। केही दिन काठमाडौंको गेष्ट हाउसमा बसेकी उनी एक्लै नेपाल घुम्न आएकी थिइनन्। उनीसँग थियो प्रतिबन्धित लागू औषध कोकिन।

गत जेठ ३ गते भेनेजुयलाबाट उनले ल्याएको मध्ये अन्तिम किस्ता कोकिन तनहुँ धर्मपानीका २९ वर्षीय दिलबहादुर गुरुङलाई दिइन्। त्यसै दिन उनी काठमाडौंबाट फेरि दुवई – ब्राजिल- कोलम्बिया हुँदै भेनेजुयला फर्कने तयारी थियो। तर उनको योजना पूरा नहुँदै नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गर्‍यो। अन्तत: उनी प्रहरीको जालमा फसिन्। २ केजी ६ सय ग्राम कोकिन, १३ लाख रुपैयाँ जफत गर्दै प्रहरीले एक नेपालीसमेत ४ जनालाई समात्यो।

माछा मार्न प्रयोग हुने डोरी हो नाइलन। नेपालमा यो महङ्गो मूल्यमा बिक्री  हुन्छ। उनले त्यही डोरीमा कोकिन लुकाएर नेपाल भित्र्याएकी थिइन्। नेपाल आइपुगेपछि भनेजुयलाका जोनलाई भेट्ने र उनले नेपालसम्म कोकिन ल्याए बापत १ हजार ५ सय अमेरिकी डलर पाउने शर्तमा उनले भरियाको काम गरेको प्रहरीको दावी छ।

उनको गिरफ्तारीले लागू औषध नियन्त्रण व्युरोले सञ्चालन गरेको 'अपरेसन फिस' सफल बन्यो। अवैध लागू औषध कोकिनको अन्तर्राष्ट्रिय कारोबारीलाई अपरेसन फिसको जालमा पार्न प्रहरी आंशिकरुपमा भए पनि सफल भयो। सँगै नेपाल नेटवर्कमा रहेर कारोबार गर्नेहरु समेत समातिए।  

यमेरिसलाई पक्राउ गरेपछि उनकै सूचनाका आधारमा तनहुँका दिलबहादुर तामाङ र उनीसँग रहेका भारतीय नागरिक तोहिद खान पनि प्रहरीको अपरेसन फिसमा माछा फसे। पक्राउ परेका भारतीय खान गत जेठ १० गते जेट एयरको विमानबाट कोलकाता - मुम्बई हुँदै काठमाडौं आएका थिए। उनले दिलबहादुरसँग रहेको कोकिन लिएर फर्कने योजना बनाएका थिए। तर उनको योजना बीचमै तुहियो।

प्रहरीका अनुसार समातिएका दिलबहादुर लामो समयदेखि हङकङ, थाइल्यान्ड, भारत लगायतका मुलुकमा ड्रग्स कारोबारमा संलग्न रहँदै आएका थिए।

यो कारोबारमा नाइजेरियाका मोहम्मद लामिनी पनि जोडिएका थिए। यमरिसले ३७ वर्षीय लामिनीलाई गत जेठ १ गते माछा मार्न प्रयोग हुने डोरीमा लुकाएर ल्याइएको कोकिन दिएकी थिइन्। माछा मार्ने डोरीबाट सुरु भएको जालोमा अन्तत: नाइजेरियन पनि फसे।

मोहम्मद गत वैशाख ३१ गते मलेसियन एअर मार्फत् चीन हुँदै काठमाडौं आएका थिए। प्रहरीले उनलाई १ केजी ६ सय २८ ग्राम कोकिनसहित क्षेत्रपाटीबाट समात्यो। उनी नेपालबाट कोकिन लिएर चीन जाने योजनामा थिए। उनीहरुलाई अवैध कोकिनको कारोबार गर्न लगाउने मुख्य योजनाकार भने नाइजेरियाका नागरिक जोन रहेको प्रहरीको दावी छ जो अझै पनि प्रहरीको पहुँचबाट टाढै छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell