PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बाढीले बगायो दुई बालक, दुवैको मृत्यु



रासस

धनगढी : बाजुरा जिल्लाको पूर्वी उत्तरी क्षेत्र रुगिन गाविस–६ कवाडी गाउँमा अविरल वर्षापछि आएको बाढीको भेलमा बगेर स्थानीय दुई बालकको आज मृत्यु भएको छ।
  
वर्षासँगै स्थानीय खोलामा आएको भेल घरभित्र पसेपछि अत्तालिएका दुई बालक घरबाट हाम फाल्ने क्रममा भेलमा बगेर मृत्यु भएको बजुराका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताए।
  
आज बिहान ४ बजेको समयमा भएको उक्त घटनामा परी कवाडी गाउँका चन्द्रबहादुर बुढथापाका १० वर्षीय छोरा निखिल बुढथापा र छ वर्षीय दीर्घ बुढथापाको भेलमा बगेर ज्यान गएको हो।
 
गाउँका अन्य घरमा समेत बाढीको भेल पस्दा सात जना घाइते भएका छन्। घाइते हुनेमा कवाडी गाउँका नौरता भण्डारी, छमकला बुढथापा, मन बुढथापा, मोहन सुनार, रबुली बुढथापा, कुसुमकला बुढथापा र अम्बकला बुढथापा छन्।
 
घाइतेको रुगिन स्वास्थ्य चौकीबाट गएको स्वास्थ्यकर्मीको टोलीले घटनास्थलमै उपचार गरिरहेको जनाइएको छ ।
 
घटनामा विभिन्न परिवारले पालिराखेका ३७ चौपायसमेत मरेका छन्। गाउँमा पसेको बाढीको भेलका कारण स्थानीय १६ परिवारको घरमा पूर्ण क्षति पुगेको छ । ६३ घरमा आंशिक क्षति पुगेको छ। सञ्चार सम्पर्क हुन नसकेको र भौगोलिक रुपमा विकटसमेत रहेका कारण क्षतिको पूर्ण विवरण आइनसकेको बताइएको छ।
 
घटनापछि आजै बाजुराको बिछिया प्रहरी चौकी, पुन्न प्रहरी चौकी कोल्टीबिसुगाड प्रहरी चौकी र हुम्लाको महिला कवाडी प्रहरी चौकीबाट प्रहरी टोली खटिइ उद्धारमा जुटेको बताइएको छ ।

बाजुराको सदरमुकाम मार्तडीबाट तीन दिनको पैदल दूरीमा उत्तर–पूर्व क्षेत्रमा पर्ने घटना स्थलमा राहत सामग्री लिएर टोली जान लागेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell