PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

काठमाडौँ प्रहरी प्रमुख भन्छन्- सुरक्षा कडा छ, निर्धक्क गाडी चलाउनुस्, २ सय बन्दकर्ता पक्राउ



सविन ढकाल

काठमाडौँ प्रहरी प्रमुख भन्छन्- सुरक्षा कडा छ, निर्धक्क गाडी चलाउनुस्, २ सय बन्दकर्ता पक्राउ

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विक्रम सिंह थापाले काठमाडौमा चक्काजामको प्रभाव कम गर्न र सुरक्षा व्यवस्था कडा पार्न १२ सय सुरक्षाकर्मी खटाइएको जानकारी गराउँदै सवारी साधन निर्धक्क चलाउन आग्रह गरेका छन्। 

थापाले केही बेरमा नै राजधानीको यातायात व्यवस्था सामान्य हुने दावीसमेत गरे। 


यातायात व्यवसायीले आह्वान गरेको चक्काजाम सफल पार्न बिहानैदेखि राजधानीका विभिन्न स्थानमा बन्द गराउँदै हिँडेका २ सय भन्दा बढीलाई प्रहरीले पक्राउ गरिसकेको छ।

प्रहरीले काठमाडौँको चाबहिल, टेकु, महारागञ्ज, कोटेश्वर लगायतका स्थानबाट बन्दकर्तालाई पक्राउ गरेको एसएसपी थापाले पहिलोपोस्टलाई बताए।

उनका अनुसार चाबहिल र सुकेधारामा गाडी तोड्फोड् गर्नेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।  त्यस्तै महानगरीय प्रहरी परिसर ललितपुरले पनि २० जनाभन्दा बढी बन्दकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ । 

जरिवाना बढाएको विरोधमा चक्काजाम

ट्राफिक नियम उल्लङ्घन गरेकोमा लाग्ने जरिवाना शुल्क बढाएको विरोधमा यातायात व्यवसायीले गरेको चक्काजामले काठमाडौँ उपत्यकाको जनजीवन प्रभावित भएको हो।

यातायात व्यवसायीहरुले निजी सवारी साधनलाई अवरोध नगर्ने घोषणा गरे पनि हलचोक, लगनखेल, कोटेश्वर, बालाजु, माछापोखरी, एकान्तकुना, कमलविनायक लगायतका ठाउँमा सवारी साधन तेर्स्याएर जाम गरेका छन्। उनीहरुले साँझ ५ बजेसम्म चक्काजाम गर्ने बताएका छन्।

गत वर्ष असोज १४ गते ट्राफिक ऐन संशोधन गरी ट्राफिक नियम उल्लङ्घन गर्नेलाई यही जेठ १ गतेदेखि लागू हुनेगरी ट्राफिक जरिवाना वृद्धि भएको थियो। 

यातायात व्यवसायीले राजमार्ग लाइफलाइन भएकोले बन्द, हडताल निषेध गर्दै शान्ति क्षेत्र घोषणा कार्यान्वयनको माग गरेर चार वर्षअघि सरकार र सबै राजनीतिक दललार्इ ज्ञापनपत्र बुझाएका थिए। यही प्रतिबद्धताका लागि सबै निकाय धाउने यातायात व्यवसायी नै अहिले हडतालमा उत्रिएका छन्।     

​यो पनि हेर्नुस्-

चक्काजाममा अलपत्र यात्रुका लागि प्रहरीको निःशुल्क बस सेवा, यी रुटमा चल्दैछन् बस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell