काठमाडौं : मधेस केन्द्रित दलले सरकारले सेना परिचालन गरेर मधेसी धपाउन खोजेको आरोप लगाएका छन्।
बिहीबारको संसद बैठकमा मधेस केन्द्रित दलको तर्फबाट बोल्दै तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जंगीलाल रायले मधेसको गल्लीगल्लीमा अहिले सेनाले गस्ती गरेको बताए।
'मधेसका जिल्लामा सेनाले गस्ती गरिरहेको छ १५० देखि २ सय को संख्यामा सेना हिँडिरहेका छन्' उनले प्रश्न गरे 'गल्लीगल्लीमा सेना घुमिरहेको छ, कतै मधेसीलाई धपाउन खोजेको त होइन?'
रायले अहिले मधेसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पनि पुगेको भन्दै मधेसको विकास रोक्न खोजेको आरोप लगाए। 'मधेसमा अख्तियारको टोली पनि घुमिरहेको छ, विकास गर्न दिन खोजेको छैन' उनले भने 'अहिले नै जान पर्ने थिएन।'
संसद बैठकमा बिहीबार चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत हुँदैछ। तर मधेसकेन्द्रित दलले बहिस्कार गरेका छन्।
फोटो : पहिलोपोस्ट फाइल फोटो