
काठमाडौं : एक महिनाको अवधिमा १७ किशोरी तथा महिलाको विभिन्न कारणबाट हत्या भएको एक अनुगमनले देखाएको छ।
सञ्चारिका समूह नेपालले २०७३ वैशाख १ देखि ३१ गतेसम्म १५ वटा राष्ट्रिय दैनिकमा गरेको सञ्चार अनुगमनबाट यो तथ्य फेला परेको हो। धेरैजसो पीडित ४० वर्षभन्दा माथि उमेर समूहका छन्। हत्या गर्नेहरुमा ५ जना श्रीमान् नै रहेको पनि अनुगमनले देखाउँछ।
यस्ता छन् कारण
महिलामाथि हुने विभिन्न प्रकारका हिंसालाई १३ वटा शीर्षकमा अनुगमन गरिएको थियो। यसमा बलात्कार, यौन दुर्व्यवहार, घरेलु हिंसा, दाइजो, मानव बेचविखन, हत्या, बहुविवाह, बोक्सी, परम्परागत तथा धार्मिक हिंसा, आर्थिक, स्वास्थ्यसम्बन्धी, राजनीतिक लगायतका थिए। हत्याको कारण घरायसी विवाद रहेको अनुगमनले देखाएको छ।यसरी गरियो अनुगमन
अनुगमनका क्रममा समूहले खेलकुद र मनोरञ्जनसम्बन्धी समाचारबाहेक दैनिक पत्रिकाका समाचार, विचार तथा सम्पादकीय सामग्रीलाई ध्यान दिएको थियो। यो क्रममा हत्यासम्बन्धी ५३ वटा समाचार सामग्री प्रकाशित भएका थिए। राजधानीबाट प्रकाशित कान्तिपुर, नागरिक, नयाँ पत्रिका, गोरखापत्र, हिमालय टाइम्स, कारोबार, राजधानी, अन्नपूर्ण पोस्ट, नेपाल समाचारपत्र, कमान्डर पोस्ट, सौर्य दैनिक, नेपाली दैनिक तथा द काठमाडौं पोस्ट, रिपब्लिका, द हिमालयन टाइम्स र द राइजिङ नेपाल दैनिकमा प्रकाशित समाचारलाई आधार बनाइएको थियो।अनुगमनको आधार सामग्री
अनुगमन अवधिका पत्रपत्रिकामा बलात्कारका १५ वटा घटनामा २८ वटा समाचार सामग्री प्रकाशित थिए, जसमध्ये धेरैजसो पीडित ११ देखि १५ वर्ष उमेर समूहका छन्। जसमा ४ जना आफ्नै बाबुबाट बलात्कृत भएका थिए।यौन दुर्व्यवहारका ५ वटा घटनामा ३१ समाचार सामग्री प्रकाशित भएको समूहले जनाएको छ। स्वास्थ्य अधिकार हननका ५ घटनामा ५६ वटा समाचार सामग्री प्रकाशित भए भने आर्थिक अधिकारसँग सम्बन्धित ७ घटनामाथि ९० वटा समाचार सामग्री छापिएका थिए।
परम्परागत र धार्मिक हिंसासम्बन्धी ५२ र घरेलु हिंसासम्बन्धी ८ वटा समाचार प्रकाशित भएका थिए। बहुविवाह सम्बन्धी २ र दाइजोले निम्त्याएको हिंसामाथि ३ वटा समाचार छापिए।
सो अवधिमा महिला हिंसासम्बन्धी ४ वटा सम्पादकीय, १९ फोटो समाचार, ५२ लेख, सफ्ट न्युज ४४ तथा हार्ड न्युजको ४३० वटा रहेको समूहको प्रेस विज्ञप्तिमा जनाइएको छ।
‘यो अवधिमा बोक्सी आरोपका कुनै पनि समाचार प्रकाशित भएको पाइएन,’ सञ्चारिका समूहकी सचिव विमला तुम्खेवाले भनिन्, ‘तर पनि महिला हिंसासम्बन्धी समाचारको स्थान सन्तोषजनक नै मानेका छौं।’
यस अवधिमा हत्याका ७ वटा, बलात्कारको एउटा र यौन दुर्व्यवहारका ८ र स्वास्थ्यसम्बन्धी २ वटा ‘फलोअप’ समाचार प्रकाशित भएका थिए। ‘तर समाचारमा पीडित वा पीडक कसको तस्बिर राख्ने भन्नेमा यसअघि झैं सम्पादकीय दृष्टिकोणको अभाव देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ। पीडितका ५४ वटा र पीडकका ३ वटा तस्बिर छापिएको उसको अनुगमनले देखाएको छ।
(स्केच : rediff.com)