PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

​यसवर्ष रेमिट्यान्स ४ खर्ब २७ अर्ब, वैदेशिक लगानी झण्डै २ खर्ब



रासस

​यसवर्ष रेमिट्यान्स ४ खर्ब २७ अर्ब, वैदेशिक लगानी झण्डै २ खर्ब

काठमाडौं : सरकारले सदनसमक्ष आर्थिक वर्ष २०७२/७३ को आर्थिक सर्वेक्षण बिहीबार प्रस्तुत गरेको छ। 

सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा मुलुकको कुल गार्हस्थ्य उत्पादन ०.७७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। गत वर्ष त्यस्तो वृद्धिदर २ दशमलव ३२ प्रतिशत थियो। 

कृषि क्षेत्रको वृद्धिमा कमी, भूकम्पको प्रभावबाट गैरकृषि क्षेत्रका गतिविधिमा अधिक प्रभाव र भारतसँगको सीमा क्षेत्रमा भएको अवरोध र आपूर्तिमा त्यसबाट उत्पन्न व्यवधानले आर्थिक वृद्धिदर नबढेको हो। 

चालु आवमा कृषि क्षेत्रको उत्पादन १ दशमलव ३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ भने गैरकृषि क्षेत्रको वृद्धि ० दशमलव ६ प्रतिशतले बढोत्तरी हुने प्रक्षेपण गरिएको छ। 

चालु आवमा उद्योग क्षेत्रको उत्पादनमा ६ दशमलव ३ प्रतिशतले कमी आयो भने सेवा क्षेत्रको उत्पादनमा २ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ।

मुलुकको अर्थतन्त्रमा संरचनागत परिवर्तनसँगै कुल गार्हस्थ्य उत्पादनमा कृषि र उद्योग क्षेत्रको योगदान नगण्य रह्यो भने सेवा क्षेत्रको योगदान क्रमशः वृद्धि उन्मुख छ। 

त्यसैगरी कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दो क्रममा रहे पनि गैरकृषि क्षेत्रको योगदानमा भने वृद्धि हुँदै आएको छ। 

चालु आवमा कुल राजस्व परिचालन रु चार खर्ब ७५ अर्ब एक करोड रहने अनुमान गरिएकामा बितेका आठ महिनामा रु दुई खर्ब ३१ अर्ब सात करोडमात्र सङ्कलन भएको छ। 

यसैगरी, चालु आवमा वैदेशिक अनुदान रु एक खर्ब १० अर्ब ९२ करोड परिचालन हुने अनुमान गरिएकामा रु ११ अर्ब ५७ करोडमात्र परिचालन भएको छ। गत आवमा रु १४ अर्ब ३० करोड वैदेशिक अनुदान परिचालन भएको थियो। 

गत आवको तुलनामा चालु आवमा मूल्य वृद्धि अनपेक्षित रुपमा बढेको छ। चालु आवको फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकाङ्कको वृद्धिदर १० दशमलव ३ प्रतिशत रह्यो भने गैरखाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्कको वृद्धिदर १० दशमलव २ प्रतिशत रह्यो। गत आवको सोही अवधिमा ती समूहको मूल्य सूचकाङ्क क्रमशः ९ दशमलव ५ प्रतिशत र ४ दशमलव ९ प्रतिशत थियो। 

चालु आवको आठ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ८ दशमलव ४ प्रतिशतले बढेर रु १८ खर्ब ३० अर्ब ६२ करोड पुगेको छ भने सो अवधिमा ती संस्थाबाट रु १४ खर्ब ८२ अर्ब ९६ करोड कर्जा प्रवाह भइसकेको छ। 

त्यसैगरी, चालु आवको फागुनसम्ममा कुल बिमा शुल्क रु २५ अर्ब ७४ करोड आर्जन भएको र आवको अन्त्यसम्ममा त्यस्तो शुल्क रु ३८ अर्ब ६० करोड पुग्ने अनुमान गरिएको छ। 

बितेका आठ महिनामा वस्तु आयात १३ दशमलव ९ प्रतिशतले घटेर रु चार खर्ब ३५ अर्ब ८० करोड बराबर रहन पुगेको छ। व्यापार घाटा १२ दशमलव ५ प्रतिशतले घटेको छ। 

त्यस्तै विगत आठ महिनामा समग्र शोधनान्तर स्थिति रु एक खर्ब ५८ अर्ब १८ करोडले बचतमा रहेको छ। 

त्यस्तै विप्रेषण आय १५ दशमलव २ प्रतिशतले बढेर रु चार खर्ब २७ अर्ब २७ करोड पुगेको छ। अघिल्लो आवमा विप्रेषण आयमा चार प्रतिशतले वृद्धि भएको थियो। 

चालु आवमा मुलुकको कुल खाद्यान्न उत्पादन (धान, गहुँ, मकै, कोदो, जौ र फापर) गत आवको तुलनामा छ प्रतिशतले घट्ने अनुमान गरिएको छ। मौसमी प्रतिकूलता, सीमा नाकामा भएको अवरोधले मल र इन्धन ढुवानी समयमै नहुँदा भूमिगत सिँचाइमा परेको प्रभावले अन्नबाली उत्पादन कम हुने प्रक्षेपण भएको हो। 

गत फागुनसम्ममा मुलुकमा छ हजार ३२८ वटा उद्योग दर्ता भएका र तिनमा रु १० खर्ब ८४ अर्ब लगानी भई पाँच लाख १२ हजार १५९ ले रोजगारी पाएका छन्। 

त्यसैगरी सोही अवधिमा ८६ देशबाट तीन हजार ५२० उद्योग दर्ता भई रु एक खर्ब ८९ अर्बभन्दा बढीको वैदेशिक लगानी स्वीकृत भयो। यसबाट दुई लाख ११ अजार ८४३ रोजगारीका अवसर सिर्जना हुने अनुमान सर्वेक्षणमा गरिएको छ। 

त्यसैगरी २०७२ फागुनसम्ममा ११ हजार ८९० किमी कालोपत्र, छ हजार ४१९ खण्डास्मित र नौ हजार ६८१ किमी कच्ची सडक गरी हालसम्म सडकको लम्बाइ २७ हजार ९९० किमी पुगेको छ। 

अघिल्लो वर्षको भैँचालोबाट करिब रु सात खर्ब छ अर्बको नोक्सानी भएको र त्यसमध्ये रु पाँच खर्ब १७ अर्ब बराबरको सम्पत्ति क्षय भएकाले पुनःनिर्माण र नवनिर्माणका लागि रु छ खर्ब ६९ अर्ब ५० करोड लाग्ने प्रारम्भिक अनुमान पनि सर्वेक्षणमा प्रस्तुत गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell