PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

गौतमबुद्ध विमानस्थलको निर्माण दुई वर्षभित्र सकिने, सुध्रिँदै पर्यटन क्षेत्र



रासस

गौतमबुद्ध विमानस्थलको निर्माण दुई वर्षभित्र सकिने, सुध्रिँदै पर्यटन क्षेत्र

काठमाडौँ : सरकारले पेस गरेको आर्थिक वर्ष २०७२/०७३ को मन्त्रालयगत प्रगति विवरणअनुसार पर्यटन क्षेत्रको प्रगति सकारात्मक देखिएको छ।  
 
सदनमा प्रस्तुत प्रगति विवरणअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको २०७२ फागुन मसान्तसम्ममा पर्यटकीय पूर्वाधार विकासका क्षेत्रमा केही सकारात्मक काम भएको छ।
 
खासगरी गोरखा भूकम्पबाट क्षति पुगेका सांस्कृतिक सम्पदाको पुनःनिर्माण, पर्यटकीय पदमार्गको मर्मत तथा विमानस्थलको निर्माण तथा स्तरोन्नति गर्ने कामले गति लिएको छ।
 
घोषित नीति तथा कार्यक्रमअनुसार सम्पदा संरक्षणका लागि १०४ वटा कार्यक्रम समावेश गरिएकोमा ३५ वटाका लागि टेण्डर आह्वान गरिएको, ५० वटाको ड्रोइङ डिजाइन तयार भई ४२ वटा कार्यक्रम बहुवर्षीय ठेक्का प्रक्रियाबाट काम भइरहेको पर्यटन मन्त्रालयले जनाएको छ।
 
महत्वपूर्ण पर्यटकीय पदमार्ग लाङ्टाङ, खुम्बु, मनास्लु पदमार्ग सुचारु गराउने कार्य भइरहेको छ।
 
मन्त्रालयले पर्यटन क्षेत्रलाई अर्थतन्त्रको दरिलो आधार क्षेत्रको रुपमा विकास गर्ने योजनाअनुरुप राष्ट्रिय पर्यटन रणनीति मस्यौदा तर्जुमा भई रायका लागि सम्बन्धित विभिन्न निकायमा पठाई त्यहाँबाट राय प्राप्त भई स्वीकृतिको क्रममा रहेको जनाएको छ।
 
ग्रामीण पर्यटन प्रवर्द्धनका लागि होमस्टे मार्फत स्थानीय समुदाय तथा उत्पादनलाई जोड दिइनुका साथै विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम गरिएको छ।
 
मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चापलाई कम गर्न तथा आन्तरिक वायु सेवालाई प्रभावकारी बनाउन १४९ रोपनी जग्गा अधिग्रहणका लागि मन्त्रिपरिषद्बाट प्रस्ताव स्वीकृत भई अधिग्रहणका लागि प्रारम्भिक अधिकारी तोकिएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ। देशका विभिन्न विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्तरोन्नतिको कार्यक्रम सञ्चालन भइरहेको छ।
 
राजविराज विमानस्थल कालोपत्रे गर्ने, धनगढी विमानस्थलमा ड्रेन बनाउने प्रक्रिया सुरु भएको र नेपालगन्ज विमानस्थल कालोपत्रे ओभरल्याप गर्न प्रिक्वालिफिकेसन गर्ने कार्य भइरहेको छ।
 
त्यसैगरी भैरहवास्थित गौतमबुद्ध विमानस्थल निर्माण आगामी दुई वर्षभित्र सम्पन्न गर्ने उद्देश्यका साथ एक हजार ८ सय मिटर टप सोइलिङ काट्ने काम सम्पन्न भएको, ८ सय मिटर सेकेण्ड लेयर टप वेस हाल्ने काम सम्पन्न भएको र १४० बिघा जग्गा अधिग्रहण गर्न मन्त्रिपरिषद्बाट स्वीकृति भई आवश्यक प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
 
मन्त्रालयका अनुसार ग्रेट हिमालयन ट्रेलको निर्माणलाई तीव्रता दिई उक्त कार्यक्रमअन्तर्गत ९ वटा कार्यक्रम जिविसमार्फत हुने अख्तियारी दिइएको र २ वटा कार्यक्रम उपभोक्ता समितिमार्फत सोलुखुम्बुमा कार्य भइरहेको जनाइएको छ। विभिन्न जाति समुदायको परम्परा संस्कृति जगेर्ना गर्ने उद्देश्यले विभिन्न जातीय सङ्ग्रहालय स्थापनाको लागि कार्यक्रम समावेश गरेअनुसार ८ वटा सङ्ग्रहालय निर्माणका लागि संस्थाथत सम्झौता भई लागत अनुमान तयार भइसकेको छ।
 
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले थप जहाज ल्याउन छलफल प्रारम्भ गरी प्रक्रिया सुरु गरेको, २ वटा वाइड बडी जहाज ल्याउनेसम्बन्धी प्रस्ताव अर्थमन्त्रालयमा पठाइएको मन्त्रालयलले उल्लेख गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell