PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

पहिले छ्याप्ने रिहा भएको केही घण्टा नबित्दै फेरि छ्यापियो सिंहदरबारमा रातो रङ्ग, चार जना हिरासत



सविन ढकाल

पहिले छ्याप्ने रिहा भएको केही घण्टा नबित्दै फेरि छ्यापियो सिंहदरबारमा रातो रङ्ग, चार जना हिरासत

काठमाडौँ : मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारको मूलगेटमा रातो रङ्ग छ्यापेको आरोपमा सार्वजनिक अपराधको मुद्दा लगाइएका दुई जना चार दिनपछि थुनामुक्त भएको केही घण्टा बित्न नपाउँदै फेरि सिंहदरबार रङ्गिएको छ।  

साँझ ५ बजेर १० मिनेटमा सिंहदरबारको भित्तामा  रातो रङ्ग छ्याप्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिंहदरबार वृत्तका डिएसपी प्रजित केसीका अनुसार प्रतीक श्रेष्ठ, मनीषकुमार श्रेष्ठ, शरद् खत्री र विमल बोलखेलाई हिरासतमा राखी अनुसन्धान गरिँदैछ। 

​यसअघि आइतबार र सोमबार पनि दुई पटक सिंहदरबारमा रातो रङ्ग छ्यापिएको थियो। रङ्ग मेटेर सेतो पारिसकेको भित्ता आज पुनः रङ्गिएको हो।​

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विक्रमसिह थापाका अनुसार अनुसन्धानका लागि हिरासतमा राखिएका इसान र शेषनारायण झालाई आज काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएको थियो। प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदी सामु उनीहरुले अबदेखि यस्तो नगर्ने भनी माफी मागेपछि रिहा गरिएको उनले पहिलोपोस्टलाई बताए।  

तर उनीहरु छुटेको केही घण्टामै पुनः ती चार जनाले सिंहदरबारमा रातो रङ्ग छ्यापेका हुन्। 

आज बिहानको फोटो

रङ्ग छ्याप्ने इसान र पत्रकार शेषनारायण झालाई प्रहरीले सार्वजनिक अपराधको मुद्दा लगाउने तयारी गरेको थियो।  झालाई प्रहरीले इसानलाई रङ्ग छ्याप्न सहयोग गरेको आरोप लगाएको थियो। तर झाले भने आफूले इसानलाई नचिनेको उनलाई भेट्न आउनेलाई बताउने गरेका छन्। 

समयबोध पत्रिकामा आवद्ध पत्रकार झालाई गेट रङ्ग्याएको फोटो खिचेकै भरमा पक्राउ गरी सार्वजनिक अपराधको मुद्दा लगाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको गम्भीर उल्लङ्घन भएको भन्दै देशभरका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले बुधबार विज्ञप्ति जारी गरेको छ। 

सोमबारको फोटो

२१ वर्षीय इसान भने सि‌ंहदरबारको वास्तविक चरित्र उदाङ्गो गर्न मूलद्वारमा रक्तिम रंग छर्किएको बताउँछन्। उनले आफ्नो फेसबुकमा 
दमनहिंसा र उपेक्षाको शृंखलाका कारण मधेसमा नेपाल राष्ट्रप्रति निराशा बढ्दै गएकोले सरकार र शीर्षदलका अगुवाले तत्काल स्थितिको गम्भीरता बुझी असन्तुष्ट पक्षलाई पूर्णसम्मानसहित समेट्ने इमान्दार प्रयास गर्नुपर्ने बताएका छन्। त्यसो नगरे दीर्घ वा मध्यकालमा स्वदेशको अस्तित्त्व सङ्कटमा पर्ने भएकोले स्वदेश बचाउन आफूले निर्जल व्रत गरेको उनको कथन छ। 

थारू, मधेशी, आदिवासीजनजाति, महिला, दलित, मुसलमान लगायत अन्य उपेक्षित शोषित जनसमुदायसँग राज्य एवं वृहत्तर नेपाली समाजद्वारा गरिएका सम्पूर्ण ऐतिहासिक विभेद दमन तथा भूलत्रुटीका लागि राज्यको तर्फबाट राष्ट्रप्रमुख र सरकारप्रमुखले क्षमा माग्नुपर्ने उनको माग छ। 

आइतबार सि‌हदरबार र प्रधानमन्त्री निवास बालुवाटारमा रातो रङ्ग छ्यापेका उनलाई सामान्य सोधपूछपछि रिहा गरिए पनि सोमबार फेरि रङ्ग छ्यापेपछि उनलाई चार दिन हिरासतमा राखिएको थियो।   



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell