PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

​इजरायली व्यापारीलाई उपप्रधानमन्त्री थापाले भने– नेपाल उदारवादी मुलुक हो, लगानी खुला छ



पहिलोपोस्ट

​इजरायली व्यापारीलाई उपप्रधानमन्त्री थापाले भने– नेपाल उदारवादी मुलुक हो, लगानी खुला छ

काठमाडौं  : उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले इजरायली लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। शुक्रबार इजरायलको जेरुसेलममा इजरायली उद्योगी व्यवसायीहरुसँगको छलफलमा उनले नेपाल उदारवादी अर्थतन्त्र भएको मुलुक रहेको र अर्थतन्त्रमा सरकार सहजकर्तामात्र रहेको भन्दै लगानी र व्यापारका लागि उपयुक्त क्षेत्र भएको बताए।

'नेपाल उदार अर्थव्यवस्था भएको मुलुक हो, जहाँ सरकारले सहजकर्ताको भूमिका मात्र निर्वाह गर्छ भने मुख्य भूमिकामा लगानीकर्ता र उद्यमीहरु रहनेछन्' परराष्ट्र मन्त्रीको भनाइ उधृत गर्दै इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ। थापाले नेपालमा आर्थिक विकासको एजेण्डा र त्यसमा विदेशी लगानी आवश्यक पर्ने विषयमा आम सहमति रहेको पनि कार्यक्रममा बताएका थिए।  

फेडेरेसन अफ इजरायली चेम्बर अफ कमर्सले आयोजना गरेको छलफलमा थापाले सरकारको प्रोत्साहनमा लगानी र ब्यापार गर्ने आकर्षक गन्तब्यको रुपमा नेपाललाई अघि बढाउने पनि बताए।

उनले नेपालमा लगानीका लागि जलविद्युत, उत्पादनमुलक उद्योग, पर्यटन, सेवा सूचना प्रविधि, खानी तथा कृषि जन्य उद्योग लगायतका सबै क्षेत्र खुला रहेको बताए। कार्यक्रममा उपस्थित इजरायली व्यापारी तथा लगानीकर्ताहरुले नेपालका ब्यापारीहरुसँग आफ्नो अनुभव आदान प्रदान गर्न र ब्यापारका लागि सहकार्य गर्न तयार रहेको बताए।

त्यस्तै विदेश मामिला सम्बन्धी इजरायली निकायले शुक्रबार नै इजरायलको जेरुसेलममा गरेको कार्यक्रममा उपप्रधानमन्त्री थापाले नेपाल र इजरायलबीच मैत्रीपूर्ण सम्बन्धको लामो इतिहास रहेको स्मरण गरे। उनले मध्यपूर्वी क्षेत्रमा बृहत शान्ति स्थापनाका लागि हुने सबैखाले प्रयासलाई नेपालले स्वागत गर्ने बताएका छन्।

थापाले इजरायल सरकारले कृषि, शिक्षा, तालिम र अनुसन्धानमा नेपाल सरकारसँगको महत्वपूर्ण साझेदारी विस्तार गरेकोमा सह्राहना गरेका छन्। उनले भूकम्पका बेला इजरायल सरकारले गरेको सहयोग र सहानुभूतिप्रति नेपाली जनता कृतज्ञ रहेको पनि जानकारी दिए।

थापाले नेपालमा एक वर्षको कठिन प्रयासबाट ठूलो बहुमतको समर्थनमा संविधान जारी भएको बताए। नेपालको संविधान विविधतायुक्त, पारदर्शी र धेरै सुझावहरु समेटेर बनाएको भन्दै थापाले यो समावेशी, प्रगतिउन्मुख र गतिशील भएको बताए।

इजरायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहुुसँगको भेटमा उपप्रधानमन्त्री थापा। फोटो: थापाको ट्विटरबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell