PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

खरानी भयो मनीषाको शरीर, विवश थिए विमल, अचेत भइन् आमा



सविन ढकाल

खरानी भयो मनीषाको शरीर, विवश थिए विमल, अचेत भइन् आमा

काठमाडौं : आफ्नो उपचार सकाएर आमा र बहिनीलाई कोसेली बोकेर आउने सोचेका थिए नेपाली फुटबल टिमका स्ट्राइकर विमल घर्तीमगरले। तर शुक्रबार उनी रित्तै हात फर्किए। खाली हात फर्किँदा केही नल्याइदिएकोमा गुनासो गर्ने कोही थिएन। उनले न बहिनीको घुर्की सामना गर्न पर्‍यो, न आमाले खुसीको आँसु नै बहाउन पाइन्। 

विमललाई हाँस्दै बिदा गरेकी मनिषाको मुहार स्मृतिमा बोकेर फर्केका विमलको त्यही आँखाले शिक्षण अस्पतालमा लाश बनेर लडेको निर्जीव शरीर हेर्न पर्‍यो। उनले आफूलाई सम्हाल्न सकेनन्। उनकी एक्ली बहिनी अब यो संसारमा छैन। 

मनिषाको भौतिक शरीर दाजु विमलको प्रतीक्षामा थियो। बिहान करिब ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै अस्पताल पुगेका विमलको अवस्था दयनीय देखियो। त्यहाँ राष्ट्रको एउटा स्ट्राइकर देखिएन, एक विवश दाजुमात्र झल्कियो। र त्यो स्ट्राइकरको प्रतीक्षा कुनै गोल गर्नका लागि थिएन - बहिनीको शरीर चिरेर पोस्टमार्टम गर्नका लागिमात्रै थियो।

हाँसीखुसी छाडेर गएकी बहिनीको मृत शरीर देख्दा उनको मन कति विचलित भयो अनुमान गर्न सकिन्न। विमल अवाक् देखिए। फुटबलको हिरोको त्यो अवस्था देख्दा त्यहाँ सबै नि:शब्द रहे। वातावरण स्तव्ध बन्यो। परिवार मात्र होइन, त्यहाँ पुगेका सबैका आँखा ओसिला भए। केहीका आँसु झरे, केहीका टिलपिल टिलपिलमै अडिए।  

विमल आएपछि उनकी आमा त्यहाँ पुगिन्। छोरो सामुन्ने पाउँदा पीडाले भतभत भएकी उनकी आमा किन खप्न सक्थिन्? लोग्नेलाई दुर्घटनामा दशकअघि गुमाएकी उनका दुई सहारा थिए। एकले साथ छाड्दा अब एकमात्र बाँकी। उनले छोराको काँधको भर पाएर होला हिक्कानिन थालिन्। 
सानै उमेर भए पनि विमलका सामु सम्हालिनुका विकल्प थिएन। आमालाई नरुन सम्झाउँदै थिए तर लाग्थ्यो उनी आफैँ अचेत छन्। छोरो आइनपुग्दासम्म जसोतसो रोकिएको धैर्यको बाँध अब टुट्दै थियो। रुँदारुँदै विमलकी आमा अचेत भइन्। आफन्तहरु हुर्रिएर आए। पानी खुवाए। भिडभाडबाट टाढा लगे र हम्किन थाले। 

शुक्रबार दिनभरजसो अस्पतालको वातावरण नै भावविह्वल रह्यो। फुटबल खलाडीहरु फूल चढाउन प्रतीक्षामा थिए। उनीहरुको अनुहारमा विमलको पीडाको प्रतिनिधित्व प्रष्ट देखिन्थ्यो। अब यो विमलको मात्र पीडा रहेन। सिङ्गो देशको पीडा भइसक्यो। आज स‍ंसदमा पनि यसबारे कुरा उठ्यो। न्याय समितिका सांसदहरु अस्पताल पुगेर घटनाको सत्य तथ्य छानबिन गर्ने आश्वासन दिए। 

उनीहरुको औपचारिक आश्वासनले उनीहरुको पीडामा मल्हम लगाउने कुरै थिएन। विमलकी फुफु बिमाया थापा मगर त्यही भिडमा आफ्नी भदैनीलाई सम्झिँदै थिइन्।

करिब २ बजेतिर मनिषाको पोस्टमार्टम सकियो। शव वाहन भित्र रुँदैरुँदै आफन्तसँगै बसे विमल। त्यहाँबाट अन्त्येष्टिका लागि लगियो गौशाला। विद्युतीय शव दाहगृहमा मनीषाको भौतिक शरीर खरानी भयो। 

स्ट्राइकर विमल घर्ती मगरले फुटबलको सफलताले जाली चुमिरहँदा उनको जीवन भने बज्रपातका श्रृंखलाहरु थपिँदै रहे। दशकअघि दुर्घटनामा बाबु गुमाएका विमलले हिजो बहिनी गुमाए। आफ्नै स्वास्थ्य उपचारको लागि बेल्जियममा रहेका उनले सोचेका पनि थिएनन् - बहिनीको शव हेर्नकै लागि देश फर्कनु पर्ला भनेर। 

मौनताकै बीचमा विमलको नेपाल फर्किनुको उद्देश्य सकियो। तर १७ वर्षकै उमेरमा हाफटाइम नहुँदै मनीषालाई लाइफको प्लेग्राउन्डबाट रेडकार्ड देखाउने को हो र किन भन्ने प्रश्न अझै अनुत्तरित नै छ – किन उनलाई अहिल्यै भन्नुपर्‍यो र अलविदा!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell