स्थानीय बौद्ध पार्कमा टन्नै थिए मानिस र महिलाहरु। तन्नेरीहरुको एक दर्जन जोडी उपस्थित थियो त्यहाँ। चार्ली र कनिकाको जोडी सबभन्दा पछि आइपुगेको थियो। क्वीज कन्टेष्ट चलिरहेको थियो त्यहाँ। चार्ली र कनिकाको जोडीलाई देख्ने वित्तिकै कार्यक्रम सन्चालकले प्रश्न सोधी हाल्यो, ‘नेपालमा सबभन्दा बढी र सबभन्दा रोचक सपना देख्ने कलाकारको नाम के हो ?’
जवाफ कनिकाले दिइ, ‘सर, उनको नाम ओली हो, केपी ओली।’
अर्को प्रश्न आयो, ‘उनी कतिबेला देख्दछन सपना ?’
चार्लीले जवाफ दियो, ‘दिनमा सर, दिनमा। दिनमा देखेको सपनाको दोष लाग्दैन भन्नुहुन्थ्यो मेरो जिजु मुवाँ। त्यसैले दिनमा देखिने सपनालाई दिवास्वप्न भनिन्छ।’
त्यसपछिको प्रश्न निकै कडा आयो, ‘कति लामा हुन्छन् उनका सपना ?’
यसपटक कनिकाले जवाफ दिइ, ‘केही भन्न सकिन्न सर। कहिले एक वर्ष लामो हुन्छ सपना, कहिले पाँच–सात हजार किलोमिटर लामो हुन्छ। घरमा घरमा ग्यास जोडने सपना चारपाँच महिना लामो थियो। बिजुलीको सपना दुई तीन वर्ष तानिएको थियो। रेलको सपना अलि छोटै थियो। पानीजहाजको सपना एक वर्ष लामो थियो। अस्तिमात्रै देखेको केरुङसम्म बिजुलीको प्रसारण लाइन वनाउने सपना पाँच–सात महिना लामो छ।’
कार्यक्रम प्रस्तोताले प्रश्न गर्यो, ‘यसमा कुनै सपना त छुटेका छैनन ?’
जवाफमा चार्ली उतर्सिदै बोल्यो, ‘छुट्यो सर छुट्यो। कनिकाले हावाबाट विजुली निकाल्ने सपना छुटाइ। त्यो सपना धेरै लामो अवधिको थिएन। यस्तै महिना–पन्ध्र दिनको थियो।’
अर्को प्रश्न निकै गारो आयो, ‘उनी कस्ता सपना देख्दैनन् ?’
चार्लीले कनिकालाई जवाफ दिन संकेत गर्यो। कनिकाले टाउकोमा हात राखेर सरेण्डर गरी। त्यसपछि चार्लीले कनीकुथी जवाफ दियो, ‘उनी भुईंचालो पीडितलाई घर बनाउन तत्काल राहत वितरण गर्ने सपना देख्दैनन्। बढ्दो महंगी नियन्त्रण गर्ने सपना देख्दैनन्। मधेशको समस्या सुल्झाउने सपना पनि देख्दैनन्। बरु मधेशमा आन्दोलनकारी गोली वा गुलेलीको प्रहारले मर्दा लटरम्म आँप फलेको रुखबाट सय पचास दाना आँप गोली लागेर खसेको सपना देख्दछन्। घूसखोरी रोक्ने सपना त झन देख्दै देख्दैनन्। दिनभरि उनी देश विकासका ठूलठूला सपना देख्न निदाउँछन। निद्रा बिथोलिएला भनेर अफिस पनि जाँदैनन। निवासमा नै सुत्छन् र सपनाहरु पनि त्यहीं देख्दछन्।’
चार्लीको उत्तर सुनेर कार्यक्रम प्रस्तोता दंग पर्यो। त्यसपछि उसले कनिकालाई सोध्यो, ‘यस्ता सपना देख्ने उनी एक्लै हुन कि अरु पनि छन्?’
कनिकाले जवाफ दिइ, ‘अहिलेसम्म त उनीमात्रै हुन यस्तो अजंग अजंगको सपना देख्ने। यस्ता सपना देख्ने र त्यसको वर्णन गर्ने पुरुषार्थी कोही देखिएका छैनन् अहिलेसम्म। बरु, माओवादी अध्यक्ष पुष्पकमल प्रचण्डले अस्ति एकपल्ट स्वप्नद्रष्टा केपी ओलीलाई विस्थापित गर्ने सपना देखेका थिए। त्यो सपना एक रातमा नै ड्याम खलास भयो। यसबाहेक, कोही त्यस्तो हुतिवान स्वप्नद्रष्टा देखिएका छैनन।’
कार्यक्रम प्रस्तोताले अर्को प्रश्न गर्यो, ‘केपी ओलीका यी सपनाका वारे युवा पुस्ताका मानिस र महिलाहरु के भन्छन त ?’
जवाफमा चार्ली बोल्यो, ‘एक साताअघि एकजना युवती यी सपनाहरुबाट यति प्रभावित भइन् कि उनले आफना बाबुआमासँग केपी ओलीसित बिहे गरिदिन जिद्दी गरिन्। कुनै पनि विवाहित पुरुषसँग बिहे गर्नु कानूनका हिसाबले अपराध हो भनेर बाबुआमाले सम्झाए। उनले जवाफ दिइन्, केपी ओली म्यान होइनन्, सुपरम्यान हुन। मेरो बिहे त सुपरम्यानसँग हुने हो। म्यानसँग हुने भए पो कानून लाग्नु। त्यसपछि के भयो अपडेट छैन म सर।’
त्यसपछि कार्यक्रम प्रस्तुतकर्ताले त्यहाँ जम्मा भएका सहभागीहरुसँग सोध्यो, ‘तपाईंहरु मध्ये कसैलाइ यसवारे केही जानकारी छ ?’
सहभागी मध्येको एकजना दुव्लो दुव्लो युवाले जानकारी दियो, ‘हाम्रो गाउँको भजन मण्डलीले ओलीको मन्दिर बनाउन चन्दा संकलनको काम थालेका छन्। पचास लाखको लगतमा हाम्रो गाउँमा ओली देवको नाममा एउटा भव्य मन्दिर खडा हुँदैछ।’
अर्को अलि पुडको मानिसले जानकारी दियो, ‘जनतालाई रेडियो र टेलिभिजनले उनको सपना सुनाउन थालेदेखि हाम्रो बजारको एकमात्र सिनेमाघर बन्द भएको छ।’
कार्यक्रम प्रस्तोताले सोध्यो, ‘अरु कोही हुनुहुन्छ जानकारी दिने ?’
सहभागीहरु कोही बोलेनन्।
कार्यक्रम समाप्त भयो।
कनिका र चार्ली विजेता घोषित भए। उनीहरुले सय रुपियाँ मूल्यको एक एक थान रिचार्ज कार्ड उपहार पाए। त्यसपछि सपनाको धून घन्किन थाल्यो, ‘ए कान्छा मलाइ सुनको तारा खसाइ देउ न। त्यो तारा मातरै होइन जून पनि झारी दिउँला...’
(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको कान्तिपुर गाथा तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा ) स्केच साभार :freelogovectors.net