PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

प्रधानमन्त्रीले भने- 'संविधानले सबै नेपालीलाई समान हकअधिकार दिएको छ'



पहिलोपोस्ट

प्रधानमन्त्रीले भने- 'संविधानले सबै नेपालीलाई समान हकअधिकार दिएको छ'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानपछि अबको प्राथमिकता आर्थिक विकास भएकाले त्यसका लागि संवाद र सहकार्यबाट अघि बढ्न सबैलाई आग्रह गरेका छन्।
 
नवौं गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक असहमति वा भिन्न विचार भए वार्ता र संवादकै माध्यमबाट समाधान गर्न सकिने भन्दै संवादबाट समस्याको समाधान खोज्ने प्रयासमा संलग्न रहन आग्रह गरेका छन्।
 
नेपाली जनताको लामो संघर्षबाट सामन्ती प्रणाली र राजतन्त्रको अन्त्य गर्दै सामाजिक न्याय र समानताको मूलस्तम्भको रुपमा गणतन्त्र स्थापित गरेको भन्दै उनले आजको दिनलाई ऐतिहासिक उपलब्धिको रुपमा व्याख्या गरेका छन्। ‘नयाँ संविधानले संघर्ष र बलिदानको सम्मान र प्राप्त उपलब्धीलाई संस्थागत गर्दै गणतन्त्रात्मक लोकतन्त्र संस्थागत भएको छ,’ उनले भनेका छन्, ‘संविधानको कार्यान्वयनसँगै जारी लामो राजनीतिक संक्रमण मूलतः अन्त्य भएको छ, मुलुक आर्थिक-सामाजिक विकासको दिशामा अघि बढेको छ।’
 
संविधानले सबै नेपालीलाई समान हक अधिकार प्रदान गरेको उनको शुभकामना सन्देशमा उल्लेख छ। ‘संविधानले नेपालमा बसोवास गर्ने समस्त आदिवासी, जनजाति, महिला, दलित, अल्पसंख्यक, मुसलमान, मधेसी, थारु, पिछडिएका वर्गलगायत सम्पूर्ण नेपालीले आजसम्मको संघर्षबाट प्राप्त गरेका हक अधिकार र अवसरको सुनिश्चितालाई संस्थागत गरेको छ,’ सन्देशमा उल्लेख छ, ‘मुलुक नयाँ चरणमा प्रवेश गरेकोले कुनै प्रकारका अन्योल, अस्थिरता वा अनिश्चितताको बाटोमा मुलुकलाई धकेल्ने दुर्भाग्यपूर्ण प्रयासले मुलुक अघि बढ्ने बाटोमा अवरोध पुर्‍याउँछ। यसमा सचेत र सजग रहन म आम देशबासीहरुमा आग्रह गर्दछु।’
 
वर्तमान सरकार शान्ति, लोकतन्त्र, सामाजिक न्याय र समानता, सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता र देशको राष्ट्रिय हित र स्वाभिमानको रक्षा एवं सुदृढिकरणका लागि प्रतिबवद्ध रहेको ओलीको दाबी छ।
 
भूकम्पको महाविनास, तनाव, आन्दोलन, बन्द र आपूर्ति व्यवस्थामा पैदा भएका महासंकटहरुलाई पार गरेको भन्दै उनले उल्लेख गरेका छन्, ‘धुलो टक्टक्याएर पुनर्निर्माण र नव निर्माणमा जुटेका छौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell