
इण्डियन प्रिमियर लिग आइपिएलको जारी सिजनमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यानको सूचीमा दोश्रो स्थानमा छन् - डेभिड वार्नर। वार्नरले नवौं आइपिएलमा अहिलेसम्म ७ सय ७९ रन बनाइसकेका छन्। वार्नर भन्दा अगाडि छन् विराट कोहली। कोहलीले ९ सय १९ रन बनाएका छन्।
वार्नरको सनराइजर्स हैदरावाद र कोहलीको रोयल च्यालेन्जर्स बैंगलोर आउँदो आइतबार आइपिएलको फाइनलमा भिड्दैछन्।
त्यसो त प्रतियोगितामा अहिलेसम्ममा सबैभन्दा धेरै विकेट लिने खेलाडीमा हैदरावादकै छन्। हैदरावादका भुवनेश्वर कुमारले २३ विकेट लिएका छन्। तर दोश्रो र तेश्रो स्थानमा भने बैंगलोरका खेलाडी छन्। सेन वाट्सनले २० विकेट लिइसकेका छन् भने युजवेन्द्र चाहालाले पनि २० विकेट लिएका छन्।
पटक पटक उपाधी भिडन्तमा पुगेको बैंगलोरले अहिलेसम्म आइपिएल ट्रफी जित्न सकेको छैन। त्यस्तै हैदरावाद पनि क्वालिफायरमा पुगे पनि उपाधि हात पार्न सफल भएको छैन। यो दुई मध्ये जुन टोलीले जिते पनि उपाधी हात पार्ने नयाँ टोली हुनेछ। बैंगलोरले लिग चरण दोश्रो स्थानमा रहँदै अन्त्य गरेको थियो। उ पहिलो क्लालिफायरमा गुजरात लायन्सलाई हराउँदै सिधै फाइलनमा पुगेको हो।
हैदरावाद पनि इलिमिनेसन राउण्डमा कोलकाता र शुक्रबार भएको दोश्रो क्वालिफायर राउण्डमा गुजरातलाई नै पराजित गर्दै फाइनलमा पुगेको हो।
कसरी पुग्यो हैदरावाद फाइनलमा?
दिल्ली स्थित फिरोज साह कोटला मैदानमा भएको खेलमा गुजरातले टस हारेर पहिले ब्याटिङ गर्यो। उसले हैदरावादलाई १ सय ६३ रनको लक्ष्य दियो। गुजरातका लागि एरोन फिन्चले ५० रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले रन जोड्न सकेनन्। पूरै ओभर ब्याटिङ गरेको गुजरातले ७ विकेटको क्षतिमा १६२ रन बनायो। गुजरातलाई रोक्ने क्रममा हैदरावादका भुवनेश्वर कुमारले २ तथा बेन कटिङले २ विकेट लिए।जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले १९ ओभर २ बलमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो। हैदरावादको जितमा नायक बने डेभिड वार्नर। उनले ५८ बलमा नट आउट ९३ रन बनाए। वार्नरलाई साथ दिए ११ बलमा २७ रन प्रहार गरेका विपुल शर्माले। वार्नर आइपिएलको जारी सिजनमा एक मात्र विदेशी कप्तान भएको टोली हो। अन्य ब्याट्सम्यानहरु खासै जम्न नसके पनि वार्नर आइपिएलको जारी सिजनमा उत्कृष्ट फर्ममा रहेका छन्।
गुजरातका सिभी कौसिक र ड्वाइन ब्राभोले हैदरावादको दुई/दुई विकेट लिए पनि उसलाइ फाइनल प्रवेश गर्नबाट रोक्न सकेनन्।
आइपिएलको फाइनल आउँदो आइतबार बैंगलोरमा हुँदैछ।