काठमाडौं : जनजीवनसँग सोझै जोडिने पेट्रोलियम पदार्थको मूल्य बढ्ने भएको छ। पेट्रोल र डिजेलमा प्रति लिटर कम्तिमा ५ रुपैयाँ बढ्ने भएको हो। सरकारले बजेट सार्वजनिक गर्दै भन्सार विन्दुबाटै ५ रुपैयाँ अतिरिक्त शुल्क लिने जनाएको हो। तर, यसरी लिन लागिएको रकम नेपाल आयल निगमबाटै लिने या उपभोक्ताबाट भन्ने खुलाइएको छैन।
यसरी पेट्रोलियममा लिइएको रकम बुढीगण्डकीमा जलाशय युक्त जलविद्युत निर्माणमा खर्चिने सरकारको योजना छ।
नेपालमा वर्षमा १ अर्ब २० करोड लिटर डिजल, ३६ करोड लिटर पेट्रोल र १२ करोड लिटर हवाई इन्धन भित्रिन्छ। सरकारले ५ रुपैयाँ लिटरमा थप कर लिने हो भने डिजेलबाट ६ अर्ब, पेट्रोलबाट १ अर्ब ८० करोड र हवाई इन्धनबाट ६० करोड रुपैयाँ आर्जन गर्न सक्ने छ। यस आधारमा पेट्रोलियम पदार्थबाट ८ अर्ब ४० करोड रुपैयाँ संकलन गर्न सक्छ।
१ हजार २ सय मेगावाट क्षमताको बुढीगण्डकीको विस्तृत परियोजना प्रतिवेदनअनुसार २ खर्ब ५० अर्ब यसको निर्माणका लागि लाग्नेछ। आयोजनाको मुआब्जाका लागिमात्रै ५० अर्ब खर्च हुन्छ।
नेपाल आयल निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले अतिरिक्त कर लगाउँदा तत्कालका लागि निगमको नाफा घट्ने बताए। 'अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेकोले नाफामा मात्रै घट्नेछ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेमा मूल्यमा चाप पर्नेछ,' उनले भने। बजेटमार्फत कर बढेमा डिजेलको नाफा घटेर १ रुपैयाँ ४२ पैसामा सीमित हुनेछ। मे महिनामा डिजलमा ६ रुपैयाँ ४२ पैसा मात्रै नाफा छ।
मे महिनामा निगमलार्इ पेट्रोलमा १० रुपैयाँ ५३ पैसा नाफा छ। कर लाग्नेवित्तिकै ५ रुपैयाँ ५३ पैसामा झर्नेछ। हवार्इ इन्धनको नाफा पनि ५ रुपैयाँ ९३ पैसामा झर्नेछ। अहिले हवार्इ इन्धनको नाफा १० रुपैयाँ ९३ पैसा नाफा छ।