PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

मजदुरहरुलाई प्रचण्डको सुझाव- ‘सामाजिक न्यायका लागि लडिरहनुस्’



पहिलोपोस्ट

मजदुरहरुलाई प्रचण्डको सुझाव- ‘सामाजिक न्यायका लागि लडिरहनुस्’

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र ल्याउन मजदुरहरुको निर्णायक भूमिका रहेको भन्दै सामाजिक न्यायका लागि लडिरहन आग्रह गरेका छन्।

अखिल नेपाल ट्रेड युनियन महासंघको छैटौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष प्रचण्डले मजदुर अधिकार संविधानमा मौलिक अधिकारका रुपमा उल्लेख भइसकेकाले अधिकार प्राप्तिका लागि एकताबद्ध भएर अगाडि बढ्न सुझाव दिए।
 
संविधानमा मजदुर, किसानहरुका कुरा समेटिए पनि कार्यान्वयन हुन नसके त्यसले अर्थ नराख्ने भएकाले निरन्तर संघर्षमा लागिरहन उनले जोड दिए।
 
‘विश्व कम्युनिस्ट आन्दोलनसँगसँगै मजदुरहरुले फेरि नयाँ रुपबाट आन्दोलन गर्नु नै छ,’ उनले भने, ‘हिजो हामीले रगत बगाएर ल्याएको उपलब्धि संस्थागत गर्न समान्तवादको अन्त्य गर्दै समाजवादको यात्रातिर अग्रसर हुनु अहिलेको आवश्यकता हो।’
 
पुनर्निर्माण, संविधान कार्यान्वयन र मधेसका असन्तुष्टि सम्बोधनका लागि राष्ट्रिय एकताका खाँचो औंल्याउँदै उनले राष्ट्रिय एकता र हितकै लागि माओवादी एकता भएको बताए। ‘माओवादी पार्टी विभाजन थियो। प्राप्त उपलब्धि के हुने हो भन्ने जनतामा आशंका थियो,’ उनको भनाइ थियो, ‘उहाँहरुकै आवाजलाई विचार गरेर र राष्ट्रको हितका एकताको महाअभियानमा जुटेका छौं।’
 
नवौं गणतन्त्र दिवसका अवसरमा आजै एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले प्राप्त उपलब्धिहरुलाई क्रियान्वयन गर्दै यसका सीमा र कमजोरीबारे जनतालाई सचेत गराउन र क्रान्तिका आगामी कार्यभार पूरा गर्ने अभियानमा एकताबद्ध हुन अपील गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell