PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

मेलम्चीमा याङ्ग्री र लार्के खोलाको पानी पनि मिसाइने



पहिलोपोस्ट

मेलम्चीमा याङ्ग्री र लार्के खोलाको पानी पनि मिसाइने

काठमाडौं : मेलम्ची खानेपानीमा याङ्ग्री र लार्के खोलाको पानी मिसाएर राजधानी ल्याइने भएको छ। मेलम्चीले मात्रै राजधानीको खानेपानीको अभाव नहट्ने भएपछि सरकारले याङ्ग्री र लार्के खोलाको पानी ल्याउन लागेको हो। सरकारले बजेटमार्फत् याङ्ग्री र लार्के खोलाको पानी मिसाउन रकम विनियोजन गरेको छ। बजेटमा अर्को वर्षदेखि यो आयोजना निमार्णको काम सुरु हुने उल्लेख छ।

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टरार्इका अनुसार मेलम्चीमा  याङ्ग्री र लार्के खोलाको पानी मिसाउने काम तीन वर्षभित्र सकिनेछ। यो दुर्इ खोलाबाट थप ३४ करोड लिटर पानी राजधानी भित्रिनेछ। मेलम्चीसँगै यी दुर्इ खोलाको पानी आएमा राजधानीमा दैनिक ५१ करोड लिटर पानी भित्रिनेछ।
 
काठमाडौंमा दीर्घकालीन रुपमा खानेपानीको अभाव पूरा गर्न अर्को वर्षदेखि मेलम्ची खानेपानीको क्षमता बिस्तारका लागि याङ्ग्री र लार्के खोलाको काम अघि बढाउन लागिएको हो। याङ्ग्रीबाट लार्के र लार्केबाट मेलम्चीमा मिसिएर काठमाडौं भित्रने आयोजना तेस्रो चरण अन्तर्गतको कामको रुपमा अघि बढ्नेछ। यो तेस्रो चरणको काम पछि मेलम्चीको क्षमता तेब्बरले बढ्नेछ। दुर्इ खोलाको पानी मिसाएर ल्याउन २१ अर्ब २० करोड रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।
 
उनका अनुसार प्रारम्भिक अध्ययन तथा पूर्वाधारको तयारीको काम भइरहेको छ। उनले भने,' अहिले जग्गा उपलब्ध गराउने, बाटो खोल्ने लगायतका कामहरु भइरहेको छ।' लार्के र याङ्ग्री खोला आयोजनाका लागि परामर्शदाता छनौंटको तयारी भइरहेको भट्टरार्इले बताए। मेलम्चीको मुल स्रोतबाट याङ्ग्री र लार्के खोलासम्म करिब १२ किलोमिटरको दुरी छ। मेलम्चीबाट काठमाडौंमा दैनिक १७ करोड लिटर परिमाणमा पानी भित्र्याउने आयोजनाको लक्ष्य छ। मेलम्ची आयोजना अन्तर्गत दुई वटा चरणका काम भइरहेका छन्।
 
तेस्रो चरण अन्तर्गतको याङ्ग्री र लार्के खोलाबाट दैनिक १७/१७ करोड लिटरको दरले मेलम्चीमा मिसाएर तेब्बर परिमाणमा काठमाडौंमा पानी भित्रने काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell