पाँचथर : जङ्गली च्याउ खाएका यस जिल्लाका तीन व्यक्तिको आज मृत्यु भएको छ।
थर्पु–६ दारिम्बामा आज जङ्गली च्याउ खाएकी एक बालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा चन्द्रमाया माबोकी ११ वर्षीया छोरी एलिजा रहेकी छिन्। उनको जिल्ला अस्पताल पाँचथरमा उपचारका क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
यस्तै, सिकिस्त बिरामी उनका १६ वर्षीय छोरा पुष्पा, नौ वर्षीया छोरी सुलोचना र छ वर्षीय छोरा प्रशान्तको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ। आज बिहान आमाले जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि उनीहरु अकस्मात् बिरामी परेको स्थानीय जीवनकला माबोले बताए।
त्यसैगरी जङ्गली च्याउ खाएर उपचारका लागि धरान घोपा लगिएकी जिल्ला पाँचथर आङ्ना–१ बस्ने वीरेन्द्र माङ्लाककी १३ वर्षीया छोरी कविता माङ्लाक र उनकी आमा ४५ वर्षीय पद्ममाया माङ्लाकको पनि आज बिहान अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै उनकी छोरी सोनीको भने जेठ १३ गते लाइफलाइन हस्पिटल, दमकमा उपचारका क्रममा मृत्यु भएको थियो।
यसैगरी पाँचथर कुरुम्बा–४ बस्ने देवीकुमार लावतीले जङ्गलबाट ल्याएको च्याउ खाँदा उनी र उनकी ४४ वर्षीया श्रीमती कल्पना लावती, छोराहरु राजेन्द्र लावती, दिपेश लावती बिरामी भएका छन्। उनीहरुको झापाको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको छ।
पाँचथरमा पाँच दिनको अवधिमा च्याउ खाएर चारजनाको मृत्यु भएको छ। रासस