PahiloPost

Dec 20, 2025 | ५ पुष २०८२

अब 'अन्तरेपथ'मा खगेन्द्र संग्रौला



पहिलोपोस्ट

अब 'अन्तरेपथ'मा खगेन्द्र संग्रौला

काठमाडौं :लेखक खगेन्द्र संग्रौलको नयाँ निबन्ध संग्रह ‘उत्तरआधुनिक अन्तरेपथ’ आज सार्वजनिक भएको छ।

भृकुटीमण्डपमा जारी पुस्तक प्रदर्शनीमा लेखक तथा अनुसन्धाता प्रत्युष वन्त, मञ्जुश्री थापा र युवा अभियन्ता अनुभव अजितले पुस्तकको विमोचन गरे।

विमोचनपछि बोल्दै लेखक वन्तले ‘ढ्याके प्रगतिशीलहरुभन्दा भिन्न रहेको कारण खगेन्द्र संग्रौला अस्तित्वमा रहेको’ बताए। ‘यहाँ धेरै प्रगतिशील भनिनेहरु प्रश्नदेखि डराउँछन्,’ उनले भने, ‘तर खगेन्द्र दाइलाई वामपन्थीहरुले नै प्रश्न उठाउँछन्, प्रतिक्रियाको आक्रमण गर्छन् तर उहाँ त्यसलाई पचाइदिनुहुन्छ।’

पुस्तकमाथि छोटो टिप्पणी गर्दै वन्तले हरेक पाठकका लागि पुस्तक पठनीय रहेको चर्चा गरे। ‘व्यक्तिमाथि पढ्न मन हुनेले ‘व्यक्ति बिम्ब’ पढे भयो, भूकम्पले निम्त्याएको संकट र सामाजिक प्रभावबारे चासो राख्नेले ‘भूकम्प’ खण्ड पढे भयो, ‘खुद्रा-मसिना’ खण्ड स्वच्छन्द लेखन हो जसले पढ्दा पनि इन्जोय गर्छन्,’ वन्तले थपे, ‘भाषा प्रयोगमा पनि केही नयाँनयाँ शब्द जन्माउनुभएको छ। यसले गर्दा पनि पुस्तक खँदिलो बनेको छ।’

लेखक मञ्जुश्री थापाले भने थुप्रै गाली आइरहे पनि आफू उत्तरआधुनिक चिन्तनमै लागेको दाबी गरिन्। ‘खगेन्द्र दाइमाथि पनि विवाद आइरहन्छ तर उहाँको लेखन हेर्दा उदारवादी जस्तो लाग्छ,’ उनले भनिन्, ‘जसले जे भने पनि उहाँ उत्तरआधुनिक र लिबरल नै हो।’

यस्तै युवा अभियन्ता अनुभव अजितले संग्रौलाको पुस्तकले मुलुक कुन दिशातिर जाँदैछ भन्ने प्रस्ट पारेको बताए। ‘मधेसले जति कराए पनि काठमाडौंको सुख सुविधामा बस्नेहरुले नलेखे नबोलेसम्म केही हुँदैन,’ उनले भने, ‘कतिसम्म खगेन्द्र संग्रौलालाई मात्रै भारतीय दलालको आरोप लागिरहने? अब अरुले पनि लेख्नुस् बोल्नुस्।’

लेखकले भने पुस्तकबारे थप केही बोल्न चाहेनन्। बरु आफू कसरी यो अवस्थासम्म आइपुगेँ भनेर बयान गरे।

पुस्तकलाई बिएन पुस्तक संसारले प्रकाशन गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell