PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

के सस्तो के महँगो ?



पहिलोपोस्ट

के सस्तो के महँगो ?

काठमाडौं : सरकारले मोबाइलमा बिक्रेतालाई दिँदै आएको भ्याट फिर्ताको स्लायव घटाएको छ। यसले मोबाइलको मूल्य केही बढ्ने सम्भावना छ। त्यसैगरी घ्यूतेलमा दिँदै आएको भ्याट फिर्ताको मात्रा पनि सरकारले घटाएको छ। यसले घ्यू तेलको पनि केही मात्रामा मूल्य बढ्ने सम्भावना छ।
 

मोबाइल केही महँगो हुँदै

यसअघि मोबाइलको खरिद गर्दा उपभोक्ताले मूल्यमा जोडेर १३ प्रतिशत भ्याट तिर्दै आएका थिए। यसरी उपभोक्ताले तिरेको भ्याटमा सरकारले बिक्रेतालाई ५० प्रतिशत फिर्ता दिँदै आएको थियो। बिक्रेताले फिर्ता हुने भ्याटलाइ समायोजन गरेर बिक्री मूल्य तय गर्दै आएका थिए। बजेटपछि सरकारले दिँदै आएको ५० प्रतिशत भ्याट फिर्तालाई घटाएर ४० प्रतिशतमा झारेको छ।
(मानौं तपाईंले एक लाख रुपैयाँको मोबाइल किन्दा १३ प्रतिशत भ्याट जोडेर एक लाख १३ हजार भुक्तानी गर्दै आउनुभएको थियो। त्यसमध्ये बिक्रेताले ५० प्रतिशत अर्थात् साढे छ हजार रुपैयाँ भ्याट फिर्ता पाउँथे। अब १३ हजारमध्ये ५२०० रुपैयाँ मात्रै भ्याट फिर्ता पाउँछन्, अर्थात् पहिलेभन्दा १३ सय रुपैयाँ कम भ्याट बिक्रेताले फिर्ता पाउँछन्। यसको अर्थ बिक्रेताले त्यो रकम उपभोक्तालाई पास गर्दा मोबाइलको मूल्य महँगो हुनेछ।)
 

घ्यूतेलको मूल्य पनि बढ्ने

मोबाइल जस्तै बिक्रेताले घ्यू र तेलमा पनि ५० प्रतिशत भ्याट फिर्ता पाउँदै आएका थिए। अब त्यो पनि घटेर ४० प्रतिशतमा झरेको छ। साथसाथै बजेटले उपभोक्तालाई बिक्री गरेको घ्यूतेलमा मात्रै भ्याट फिर्ता दिने नयाँ व्यवस्था गरेको थियो। पहिले उद्योगले उद्योगलाई बिक्री गर्दा पनि ५० प्रतिशत भ्याट फिर्ता पाउँदै आएका थिए।
 

११ प्रतिशत महँगो भयो चुरोट

त्यसैगरी नेगेटिभ लिस्टमा रहेको चुरोटमा सरकारले साविकभन्दा ११ प्रतिशत अन्तशुल्क थप गरेको छ। चुरोटसँगै विंडी,  सुर्ती र सिगारमा पनि सरकारले बजेटबाट अन्त शुल्क बढाएको छ। फिल्टर नभएको चुरोट प्रति एम अन्तशुल्क ३४६ रुपैयाँ पुर्‍याइएको छ भने ८५ मिमिभन्दा बढी लम्बाइको फिल्टर भएको चुरोटमा प्रतिएम १८६८ रुपैयाँ अन्तशुल्क लगाइएको छ।
 

स्वदेशीभन्दा महँगो विदेशी मदिरा

सरकारले बियर तथा मदिरामा लाग्ने अन्तशुल्क समेत बढाएको छ। स्वेदशी मदिरा तथा वियरमा लाग्ने अन्तशुल्क साविक करमा १५ प्रतिशत बढाइएको छ भने विदेशबाट आयात हुने मदिरा तथा वियरमा अन्तशुल्क साविकमाभन्दा २० प्रतिशत बढाइएको छ।
 
बजेटपछि करका कारण स्वदेशी मदिराको तुलनामा विदेशी मदिराको मूल्य अझ बढ्नेछ।
 

सस्तियो विद्युतीय गाडी

सरकारले विद्युतीय गाडीमा सबैभन्दा ठूलो उपहार दिएको छ। विद्युतीय साना निजी सवारीसाधनमा यसअघि ४० प्रतिशत रहेको भन्सार दरलाई घटाएर १० प्रतिशतमा झारेको छ। यसले औशतमा २० लाख रुपैयाँ पर्ने विद्युतीय सवारी साधनको मूल्य पाँचदेखि छ लाख रुपैयाँसम्म घट्नेछ।
 
त्यसैगरी सार्वजनिक यातायातका लागि आयात गरिने ठूला विद्युतीय सवारी साधनमा भने १५ प्रतिशतको भन्सार करलाई घटाएर एक प्रतिशतमा झारिएको छ।
 
त्यसैगरी सरकारले कृषिजन्य औजारमा लाग्ने कर घटाएको छ। दुग्ध उत्पादन ओसारपसार गर्ने ट्यांकरको भन्सार दर घटाएको छ। स्वास्थयसम्बन्धी उपकरणमा लाग्ने भन्सार कर पनि सरकारले घटाएको छ। त्यसैगरी उत्पादन मूलक उद्योगका लागि आयात हुने उपकरणमा १५ प्रतिशत लाग्दै आएको भन्सार कर एक प्रतिशतमा झारेको छ।
 
त्यसैगरी प्लाष्टिक प्रतिस्थापन गर्ने उद्योगमा पनि सरकारले कर छुट दिएको छ। सञ्चारगृहले आयात गर्ने अखबारी कागजमा एक प्रतिशत मात्र भन्सार लाग्ने गरी छुट दिइएको छ।
 

कारोबार करमा छुट

सरकारले साना व्यवसायीलाई पनि कर छुटको उपहार दिएको छ। यसअघि साना व्यवसायीले कारोबार करको डेढ प्रतिशत राजस्व बुझाउँदै आएका थिए। तर बजेटले त्यस्तो राजस्व डेढ प्रतिशतबाट आधा घटाएर सून्य दशमलव ७५ प्रतिशतमा झारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell