
काठमाडौं : आफू नरम बोल्छन्, कडा लेख्छन्। पत्रपत्रिकामा पढिने उनको लेख र प्रत्यक्ष भेटिने उनको लबजको अन्तर निकै छ। माओवादी ‘निकट’ रहेको आरोप लगाउनेहरु त्यति बेला छक्क पर्छन्, जब उनी माओवादीलाई ‘पिँधविनाको लोटा’भनेर हाकाहाकी लेखिदिन्छन्।
आफूमाथि प्रहार हुने टिकाटिप्पणीलाई फिस्स हाँसेरै पचाइदिने र विवादमा आइरहने लेखक हुन्- खगेन्द्र संग्रौला। उनै लेखक 'उत्तरआधुनिक अन्तरेपथ'मा आइपुगेका छन्। यो निबन्धकृतिमा उनले अल्छ्याइँ, ठालुगिरी, लम्पटपन र ढाेँगी चरित्रका 'अन्तरे'को बखान गरेका छन्।
पुस्तक सार्वजनिकीकरण कार्यक्रममा बोल्ने वक्ताहरुले समेत ‘अन्तरे’हरुको हुर्मत काढे। अन्तरेवृत्ति माथि लेखिएको पुस्तकभित्र भने उनी पस्न चाहेनन्। नम्र भएर बोले, ‘विद्वान वक्ताहरुले जेजे भन्नुभयो म मनमा राख्छु, फुर्सदमा विचार गर्छु; अहिल्यै किन प्रतिक्रया दिइहालूँ!’ बरु उनी कसरी ‘खगेन्द्र संग्रौला’ बने? त्यसका केही प्रसंगहरु सम्झिए।
कुनै बेला प्रचण्डपथको वकालत गर्ने संग्रौलाको 'अन्तरेपथ'ले तय गरेको बाटो के हो? उपस्थित दर्शक-स्रोतामा अन्योल देखिन्थ्यो। यही बुझेर हुन सक्छ कार्यक्रम सञ्चालक उज्ज्वल प्रसाईंले गाँठो फुकाइदिए, ‘नेपालमा परिवार नियोजन भित्रेपछि अन्तरेहरु बिस्तारै लोप हुन थाले। तर लोप भएका अन्तरेहरु अहिले देशमा सलबलाइरहेका छन्। शाषक, सामन्ती, ढोँगीका अन्तरे अवतारमाथि उहाँको संकेत हो भन्ने मैले बुझेको छु।’
भट्टी पाठशालाको कक्षा
.jpg)
संविधानमा असन्तुष्टि जनाउँदै सिंगो मधेस आन्दोलनमा छ। मधेसीहरु अन्य समूहको साथ लिएर सिंहदरबार र बालुवाटार घेर्न काठमाडौं आइपुगे। तर सरकार चलमलाएन।
यही प्रसंग जोड्दैगर्दा युवा अभियन्ता/अनुसन्धाता अनुभव अजित भने अलि आक्रोशमा देखापरे। ‘हाम्रो पीडा बुझ, हामीलाई सुन भनेर काठमाडौंमा स्वर सुकुन्जेल कराइरहेका छौं। ४०-५० जना मरिसके, अझै मार्ने हो अब?’ सहभागीको बीचतिर बसेका लेखक नारायण वाग्लेतिर हेर्दै उनले भने, ‘हामीले जति लेखे पनि काठमाडौंको सुखसुविधामा बस्नेले नलेखेसम्म केही हुनेवाला छैन। खगेन्द्र दाइले मात्र कति लेख्ने? अब नारायण दाइले लेख्नुस्, बोल्नुस्।’
गणतन्त्र दिवसमै एक पत्रिकाले पूर्वराजाको ठूलो फोटो छापेर दिवसबारेको समाचार सानो कोलममा अटाएको प्रसंग झिके अजितले। ‘देशले कुन बाटो लिइरहेको छ? हामीले मधेसको नाममात्रै लिँदा भारतीय दलाल भन्ने,’ उनले भयानक प्रश्न गरे, ‘कोही चाइनिज दलाल हुन्छ भने हामी भारतीय दलाल नै सही। तर धेरै ढिला भयो भने अखण्ड नेपाल के सधैं यस्तै रहला?’
संग्रौला चाबहिल बस्छन्। त्यहीँ छ उनका साथी सर्कलको जक्सन- भट्टी पाठशाला। अनुभव अजित पनि नियमितजसो पुग्ने ठाउँ त्यही हो। उनीहरु बस्छन्, पिउँछन् र बहसमा जुट्छन्। तर संग्रौला-अजितबीच पनि असहमति हुँदै रहेछ। ‘हामीले भन्दा धेरै अगाडिदेखि इतिहास भोग्दै आउनुभो दाइले। तर उहाँसँग मेरा विमति पनि छन्,’ उनले खुलाए, ‘दाइ भन्नुहुन्छ- पूरै इतिहासलाई निषेध नगर। म भन्छु- इतिहासले निर्माण गरेको दलन र विभेद नामेट नपारेसम्म कसरी परिवर्तन हुन्छ? हो यसमै हाम्रो असहमति छ।’
भट्टी पाठशालाबाटै आफूले धेरै कुरा सिकेको भन्दै उनले ठट्टा गरे, ‘उहाँ बिस्तारै पिउनुहुन्छ। जब हामी हामी ढल्ने अवस्थामा पुग्छौं उहाँलाई बल्ल छुन थाल्दो रहेछ।’
‘लामखुट्टेको झ्याउँ-झ्याउँ’

अजितले पटक पटक दारु-प्रसंग उठाएकाले हुन सक्छ, मन्तव्यको सुरुमै लेखक/अनुसन्धाता प्रत्युष वन्तले संग्रौलासँग धेरैपटक चिया गफमा बसेको प्रस्ट पारे। ‘जाँड पाठशालामा म कहिले बसेको छैन। त्यो अनुभव अजितहरुकै विर्ता हो। हरि रोकाहरुको हो,’ नामै किटे उनले।
बिहानमात्रै पुस्तक देख्न पाएकाले पढ्न नभ्याएको भन्दै उनले सुरु गरे। पुस्तकको खण्ड, शीर्षक सरसर्ती सुनाएपछि भने, ‘आउँदा पूरै नपढ्नु अलिअलि पढे पुग्छ भन्नुभएको थियो खगेन्द्र दाइले। पाण्डुलिपि थियो, त्यही आधाजति हेरेँ।’
पहिलोपटक साइकल चढेर भेट्न जाँदा नै आफू प्रभावित भएको बताएपछि उनले संग्रौलाको प्रवृत्तिबारे चर्चा गर्न थाले। ‘ढ्याके प्रगतिशीलको जमात ठूलो छ यहाँ, ती कुनै प्रश्न सुन्न चाहँदैनन्,’ उनले भने, ‘तर वामपन्थीहरुले नै आक्रमण गरे पनि दाइ फिस्स हाँसेरै पचाइदिनुहुन्छ। आलोचना पचाउन सक्ने क्षमता छ।’ तर ट्वीटरमा समेत ट्वाच्च दिएर चुप लागेर बस्ने भन्दै संग्रौलामाथि व्यंग्य कसिहाले।
संग्रौलाको पुस्तक ‘जूनकिरीको संगीत’ प्रकाशन भएपछि माओवादी नेता प्रचण्ड र मोहन वैद्य किरणले नै कडा टिप्पणी गरेको प्रसंग पनि निकाले वन्तले। ‘प्रचण्डबाट ठूलो असन्तुष्टि आयो,’ उनले भने, ‘किरणले त जूनकिरीको संगीत होइन ‘लामखुट्टेको झ्याउँ-झ्याउँ’ हो भनेरै ठोकिदिए।’
संग्रौलासँग लामो संगत गरेका वन्तले उनका व्यक्तिगत जीवनका आनिबानीबारे पनि रोचक शैलीमा व्याख्या दिए। ‘आफ्नै आँखाको लयमा’ माथि निर्मम समीक्षा गरेको भन्दै वन्तले एक समीक्षकमाथि कडा प्रहार गरे। ‘दाइले पारिवारिक जीवनमाथि पनि लेख्नुभो त्यसमा तर एउटा ‘दाह्रासिंह’ले उसको परिवारको गन्थन किन पढ्ने भनेर लेख्यो, जसको नाम हरिबाट उठ्छ,’ उनले नामै खुलाइदिए, ‘के रे के रे… अधिकारी।’ सहभागी हाँस्न थाले। वन्तले पछाडि फर्किएर संग्रौलातिर हेर्दै भने, ‘तिनकै लागि भए पनि समाजमा परिवार भन्ने संस्था छ भनेर अर्को पुस्तक लेख्नुस् अब।’
लिबरल संग्रौला

‘संसारकै राम्रो संविधान भनिराखेका छौं तर गुदी हेर्दा ठिक उल्टो देखिन्छ,’ संग्रौलाको पुस्तकमाथि बोल्ने अर्की वक्ता मञ्जुश्री थापाले यहीँबाट सुरु गरिन्। संग्रौलाको लेखनबाट आफू प्रभावित भएको र लेखन हेर्दा प्रगतिशीलभन्दा ज्यादा ‘लिबरल’ भएको दाबी गरिन्।
‘मलाई पनि उत्तरत्तआधुनिक भइस् भनेर केही प्रगतिशीलहरुले गाली गरे,’ उनले सुनाइन्, ‘तर खगेन्द्र दाइको लेखाइमा उत्तरआत्धुनिक र उदारवाद दुवै देखिन्छ। त्यस्तो होइन भने उहाँले भन्नुहोला।’
(यसमा प्रयोग गरिएको फोटो फाइल फोटो हो)