PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

​अर्थमन्त्रीको राजीनामा माग्दै कांग्रेस नेताहरुले भने- ‘बजेट कोरा कल्पनामात्रै’



रासस

​अर्थमन्त्रीको राजीनामा माग्दै कांग्रेस नेताहरुले भने- ‘बजेट कोरा कल्पनामात्रै’

काठमाडौँ : ‘आर्थिक अनुशासन तोडेर ल्याइएको बजेट’ भन्दै नेपाली कांग्रेसले कार्यान्वयन हुन नसक्ने निष्कर्ष निकालेको छ।
 
व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज बिहान बसेको कांग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले बजेटमा कार्यान्वयनका लागि नीतिगत एवं संरचनागत व्यवस्था नभएकाले कोरा कल्पनामा सीमित हुने ठहर गरेको हो। छलफलमा नेताहरु विमलेन्द्र निधि, डा रामशरण महत, महेश आचार्य, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, भरतबहादुर खड्का लगायतले बजेटले मुद्रास्फीति बढाई अर्थतन्त्रलाई डामाडोल बनाउने बताएका छन्।
 
बैठकपछि सञ्चाकर्मीसँग कुरा गर्दै नेता डा प्रकाशशरणले ‘आकार ठूलो भएको वितरणमुखी बजेटले उल्लेख गरेअनुसारको स्रोत जुटाउन नसक्ने भएकाले कार्यान्वयनमा चुनौती आउने’ बताए। कर्मचारीको तलब वृद्धि र सांसदको कोठा भाडा वृद्धिलगायत विषय राम्रै भए पनि यसले साधारण खर्च बढाउने र महँगी अकाशिने उनको भनाइ थियो।
 
बजेटमा महँगी नियन्त्रण र उत्पादकत्व बढाउने ठोस आधार नभएकाले चुनावमुखी, पार्टीगत नारा एवं सस्तो लोकप्रियताका लागि कार्यक्रम ल्याइएको नेताहरुले बताएका छन्।
 
चालु आर्थिक वर्षमा पूर्वाधार र पुँजीगत खर्चका लागि छुट्याइएको बजेट अहिलेसम्म २० प्रतिशत पनि खर्च नभएकाले यो महत्वाकांक्षी बजेट कार्यान्वयन नहुने आवाज उठेको नेता रमेश लेखकले जानकारी दिए। ‘आर्थिक वृद्धि खस्कँदो भएका बेला बजेटको आकार बढेकाले स्रोत जुटाउन गाह्रो छ,’ उनले भने, ‘यसैले पनि यसको कार्यान्वयन चुनौतीपूर्ण देखिन्छ, लोकप्रियताका लागि बजेटलाई अनावश्यक रुपमा ठूलो बनाइएको छ।’
 
 
बजेटको आकार र प्राथमिकताको सूचना अघिल्लै दिन सञ्चारमाध्यमबाट सार्वजनिक भएकाले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नैतिक रुपमा राजीनामा दिनुपर्ने कांग्रेस नेताहरुको माग छ। पुँजीगत खर्चको क्षमता नबढाई यो बजेट कार्यान्वयन कोरा कल्पना हुने उनीहरुले निष्कर्ष निकालेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell