PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

​सरकारका प्रवक्ता भन्छन् - बजेट सस्तो लोकप्रियताका लागि ल्याएको हैन



पहिलोपोस्ट

​सरकारका प्रवक्ता भन्छन् - बजेट सस्तो लोकप्रियताका लागि ल्याएको हैन

काठमाडौं : सूचना तथा सञ्चार मन्त्री शेरधन राईले सरकारले ल्याएको बजेट महत्वाकांक्षी र सस्तो लोकप्रियताका लागि नभएको दावी गरेका छन्।

शनिबार सरकारले ल्याएको बजेट वितरणमुखी र प्रतिफल नदिने खालको भन्दै आलोचना सुरु भएका बेला मन्त्री राईले जनताको समृद्धितर्फको तीब्र चाहनालाई समेटेर बजेट ल्याएको दावी गरे।

'यो कुनै मनोगत आकांक्षा, लोकप्रियता, प्रचारमुखी र कार्यान्वयन हुन नसक्ने हिसाबले बजेट ल्याएको होइन' आइतबार सामुदायिक रेडियो प्रशारक संघले गरेको कार्यक्रममा उनले भने 'बजेट जनमुखी, अग्रगामी र समृद्धितर्फको जनताको तिब्र चाहना अनुसार ल्याइएको हो।'

संविधान जारी भएपछि जनताको चाहना समृद्धितर्फ रहेको भन्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री राईले त्यसै अनुसार मेल खाने बजेट ल्याएको बताए। अहिलेको बजेट गाउँमुखी र जनमुखी भएको पनि उनले दावी गरे।

बजेटप्रति रेडियो सञ्चालकहरुले असन्तुष्टी जनाएको प्रसंग कोट्याउँदै उनले यसबाट निराश र आक्रोशित हुनु नपर्ने बताए। बजेटमा समावेश गर्नुपर्ने विषयहरु आफुले प्रस्ट रुपमा अर्थमन्त्रालयमा बुझाएको भन्दै उनले छुटेका कतिपय विषय मन्त्रिपरिषद बैठकबाट समावेश गराउने विश्वास दिलाए।  

'हिजो प्रस्तुत भएको बजेटले ठ्याक्कै रेडियोलाई संबोधन गरेन तर यसबाट निराश पनि नहुनुस् आक्रोशित पनि नहुनुस् म विश्वास दिलाउन चाहन्छु' उनले भने 'हामी भोलि क्याविनेटबाट, अन्य विधिबाट समस्याहरुलाई संबोधन गर्छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell