PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

वृद्धभत्ता र गाविसको बजेट वृद्धिमा कांग्रेसको समर्थन



पहिलोपोस्ट

वृद्धभत्ता र गाविसको बजेट वृद्धिमा कांग्रेसको समर्थन

काठमाडौः  सरकारले स्थानीय निकाय र निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट बढाएकोमा प्रतिपक्षी नेपाली कांग्रेसले समर्थन गरेको छ। 

बजेटबारे छलफल गर्न आइतबार बसेको संसदीय दलको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले त्यस्तो कार्यक्रम आफ्नै सरकार हुँदा पनि ल्याउनुपर्थ्यो भन्दै संसदमा त्यसको विरोध नगर्न आग्रह गरेका छन्।  

'निर्वाचन क्षेत्र विकास कार्यक्रम हामीले नै सुरु गरेका हौं, त्यो बढाउन आवश्यक थियो' बैठकमा देउवाको भनाइ उधृत केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले भने 'सामाजिक सुरक्षा भत्ता बढाउने लगायत हाम्रो सरकारले पनि अघि बढाएका कार्यक्रमको विरोध नगरौं।' 

देउवाले कार्यान्वयन सम्भव नहुने र जनताको आँखामा छारो हाल्न मात्र ल्याइएका कार्यक्रम र बजेट वितरणमुखी बनाएर अर्थतन्त्रलाई अप्ठेरो पार्ने कामको विरोध गर्न सांसदहरुलाई आग्रह गरेका छन्। 

कांग्रेस केन्द्रीय सदस्य महतले कतिपय कार्यक्रम विगतकै निरन्तरता भएको भन्दै कार्यान्वयन हुन नसक्ने र अर्थतन्त्रलाई नै नकारात्मक असर पर्ने कार्यक्रमका विषयमा मात्र विरोध गर्ने विषयमा बैठकमा छलफल भएको बताए।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले बजेटको राम्रा कुराको समर्थन गर्दै नकारात्मक असर पर्ने खालका कार्यक्रमको विरोध गर्ने विषयमा छलफल गरेको बताए। 

सोमबारदेखि संसदमा बजेटबारे छलफल सुरु हुँदैछ। सोमबारको बैठकमा बजेटका विषयमा कांग्रेसका तर्फबाट पूर्वअर्थमन्त्री रामशरण महतले बोल्ने पनि संसदीय दलको बैठकले निर्णय गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell