PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

​सिडिओले बन्दुक तेर्स्याउँदै भन्यो, ‘तँलाई मार्छु’ : खगेन्द्र संग्रौलाको जीवनका चार प्रमुख मोड



फणीन्द्र संगम

​सिडिओले बन्दुक तेर्स्याउँदै भन्यो, ‘तँलाई मार्छु’ : खगेन्द्र संग्रौलाको जीवनका चार प्रमुख मोड

काठमाडौं : लेखक खगेन्द्र संग्रौलाले पुस्तकको नाम ‘उत्तरआधुनिक अन्तरेपथ’ राख्छु भनेर सोचेकै थिएनन्। बरु एउटा लेखको शीर्षकचाहिँ यही नै थियो, केही समयअघि एक दैनिकमा छापिएको।

‘प्रतिक्रान्ति’ राखूँ कि भन्ने लागेको थियो सुरुमा। ‘समय ओरालो लागेको बेला’ राख्दा पो होला कि भन्ठानेँ, त्यो पनि चित्त बुझेन,’ पुस्तक विमोचनका बेला उनले खुलासा गरेका थिए, ‘अल्छेहरुको सबभन्दा सजिलो उपाय– किताबभित्रको कुनै शीर्षक झिक्यो अगाडि कभरमा झ्याम्मै राखिदियो।’

नभन्दै उनले त्यसै गरे। पुस्तकभित्रको पहिलो निबन्ध शीर्षक नै उपयुक्त ठहरियो। यसको न्वारनका लागि विश्लेषक सिके लालको पनि सानोतिनो भूमिका रहेछ। ‘पत्रिकामा यो लेख छापिँदा उहाँबाट सुरुमै कमेन्ट पाएको थिएँ,’ संग्रौलाले भने, ‘यही शीर्षकबाट पुस्तकको नाम राख्छु भन्दा सहमत हुनुभयो। सिके लाललाई मन परेपछि अरु लालहरुले पनि पक्कै मन पराउलान्!’ 

***
केही वर्षयता नेपाली साहित्यमा उत्तरआधुनिकताको बहस बेलाबेला अति चर्को स्वरमा सुनिन्छ, बेलाबेला स्वात्तै हराउँछ। अन्ततः संग्रौलाले पनि ‘अन्तरेपथ’को बुई चढाएर ‘उत्तरआधुनिकता’ भित्र्याए। उत्तरआधुनिकता अन्तरेपथमा लागेको संकेत हो या अन्तरेहरु चाहिँ उत्तरआधुनिकतामा लागेका हुन्; यसका लागि पुस्तक नछिचोली के भन्नु!

‘खासमा उत्तरआधुनिकता हामी बाँचेको समयमा चलेको विश्वव्यापी विचारधारा नै हो,’ उनले संकेत गरेका थिए, ‘तर यसबारे नेपालका टीकाकार पुरेतहरुले जे पढाइरहेका छन्, त्योभन्दा नबुझिने अर्को छैन।’

भृकुटीमण्डपमा भइरहेको पुस्तक प्रदर्शनीकै मौकामा बिएन पुस्तक संसारले शनिबार संग्रौलाको निबन्धकृति विमोचनको चाँजो मिलाएको थियो। वक्ताहरु थिए, लेखक/अनुसन्धाता प्रत्युष वन्त, उपन्यासकार मञ्जुश्री थापा र युवा अभियन्ता/अनुसन्धाता अनुभव अजित।
 
तीनै जना वक्ताले पुस्तक र लेखकमाथि केही जिज्ञासा र प्रश्न उठाएका थिए। तर ‘जेजे भन्नुभएको छ, मनमा राख्छु र फुर्सदमा विचार गर्छु’ भन्दै संग्रौला पुस्तकभित्र पस्नै चाहेनन्। ‘पुस्तकबारे आफैं के बोलूँ ! सबै कुरा यसमै लेखेको छु । सजिलो भाषामा छ, जुन तपाईंहरुले बुझिहाल्नुहुनेछ,’ यति भनेर उनले अर्कै प्रसंग झिके।
 
के कारणले अहिलेको ‘खगेन्द्र संग्रौला’ बने त उनी? ‘उत्तरआधुनिक अन्तरेपथ’सम्म आइपुग्दाका केही प्रमुख मोडलाई उनले यसरी सम्झिए:

घटना १
२०४० सालमा चितवनको सिडिओ थियो– रामकृष्ण पन्त। एकदिन मलाई उसकै अफिसमा डाक्यो र बन्दुक तेर्स्याउँदै भन्यो, ‘म तँलाईं मार्छु।’ टाउकोमाथि राजारानीको ठूलो फोटो झुन्डिइरहेको थियो सिडिओ अफिसमा। त्यस बेलाको सिडिओले एक्सन लिएर मार्छु भनेपछि डराउनु स्वाभाविक थियो। डराएँ। बन्दुक हुनेहरुसँग म लिखुरेले के गर्न सक्थेँ र! अन्ततः भागेँ र आइपुगेँ काठमाडौं। 

घटना २
काठमाडौं आइपुगेपछि मेरो पहिलो भेट भयो– शान्तदास मानन्धरसँग। उहाँले ठूलो सहारा दिनुभयो। सँगै मिलेर बालसाहित्यमा काम पनि गर्यौंम। त्यो बेला मलाई सहयोग गर्ने अर्को व्यक्तिको नाम हो, निरञ्जन गोविन्द वैद्य। उहाँमार्फत मैले पुस्तक अनुवादको काम थालेँ। यसरी काठमाडौंमा हातमुख जोर्ने बाटाहरु तय हुँदै गए। 

घटना ३ 
म लेखनको सानो वृत्तमा थिएँ। प्रगतिशील लेखकहरुको एउटा समूह थियो, त्यसभित्र केही आग्रह–पूर्वाग्रह अवश्य थिए। जब मार्टिन चौतारीको सम्पर्कमा पुगेँ र प्रवेश गरेँ; सानो घेरामा रहेको मेरो परिचय विस्तार हुन थाल्यो। अर्को वर्ग, समुदाय र वृत्तका मानिसहरुसँग सम्पर्क हुँदै गयो। पछि कान्तिपुरमा ‘बेलाको बोली’ स्तम्भमा कुन्साङ काकाको नामबाट लेख्न थालेँ। यसरी म फैलिँदै गएँ।

घटना ४ 
मलाई यहाँसम्म ल्याइपुर्या्उने अर्को बाटो थियो– नागरिक आन्दोलन। आन्दोलनकै सिलसिलामा म देश दौडाहामा निस्किएँ। २०–२५ जिल्लाको भ्रमण गरेँ। त्यहाँको भूगोल, सामाजिक–सांस्कृतिक अवस्था, ऐतिहासकिता र मान्छेले भोगेका पीडालाई नजिकबाट छाम्ने मौका पाएँ। मधेस घुमेँ, उनीहरुसँगै बसेँ र दुःख देखेर आएँ। 

मलाई नेपाल कम थाहा छ। आफू पूर्वी पहाडको पाँचथरमा जन्मिएकाले जनजातिहरुमा राई–लिम्बूलाई अलि बढी बुझ्छु। मेरो समाजमा दलित पनि थिए, तिनीहरुमाथिको दलनबारे पनि मलाई थाहा छ।
 
यिनै अनुभवहरुले मलाई लेख्न प्रेरित गरे, पत्रपत्रिकामा मेरा लेख नियमितजसो छापिँदै गए। तिनै अखबारी लेखनलाई पुनर्लेखन र कतिपय परिमार्जन गरेर आज ‘उत्तरआधुनिक अन्तरेपथ’सम्म आइपुगेको छु।
 
चार घटना सुनाएर उनले अन्तिममा भने,  'जय नेपाल... जय मधेस!'  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell