PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

करोडौँको कोकिन बोक्ने भरियामात्रै प्रहरीको हातमा, 'बोस' भने पत्ता लागेन



सविन ढकाल

करोडौँको कोकिन बोक्ने भरियामात्रै प्रहरीको हातमा, 'बोस' भने पत्ता लागेन

काठमाडौँ :  चिनियाँ नागरिक चुन मेन हु शनिबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालम्पुर हुँदै हङकङ जाँदै थिए। 

मलेसियन एयरको विमान एमएच ११५ को उडान थियो राति ११ बजे। नौ बज्नै लाग्दा एयरपोर्टको चेक प्वाइन्टबाटै उनलाई नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोबाट खटिएका प्रहरीले नियन्त्रणमा लियो। 

छानबिन गर्दा उनको सुटकेसभित्र लुकाएर राखेको ३ केजी लागू औषध कोकिन फेला पर्यो । १ ग्राम कोकिनको अन्तर्राष्ट्रिय बजार मूल्य २० हजार रुपैयाँभन्दा बढी पर्न आउँछ। त्यो हिसाबले यो ६ करोड ३५ लाखको कोकिन थियो। 

एक हप्ताभित्र पक्राउ परेका यी पाँचौँ व्यक्ति थिए। तर अहिलेसम्म प्रहरीले पक्राउ गरेका सबै व्यक्ति ‘भरिया’ मात्रै छन्। उनीहरुको काम विदेशबाट कोकिन नेपालमा ल्याउने अनि नेपालको बाटो हुँदै विदेशमै पुर्‍याउने मात्र हो। 

लागु औषध नियन्त्रण व्युरोका एसएसपी गणेश थापा भन्छन्, यसरी भरिया हुने अन्य देशको भाषा नबुझ्ने र आर्थिक अवस्था कमजोर रहेकाहरु छन्।

​कति पाउँछन् भरियाहरुले?

चिनियाँ नागरिक हुले पहिलो पटक हङकङबाट दुबई गई कोकिन ल्याएर बुझाए वापत ४० हजार हङकङ डलर पाएका थिए। त्यस्तै दोस्रो पटक दुबईबाट नै कोकिन ल्याएर भरिया भए वापत ६० हजार हङकङ डलर कमाएका थिए। दुई पटक सजिलैसँग यति धेरै रकम कमाएपछि शायद उनी हौसिएका थिए। तेस्रो पटक ३ केजी कोकिन हङकङ पुर्‍याएको भए उनले ३० हजार हङकङ डलर पाउने थिए। तर उनको त्यो सपना तुहियो। अहिले उनी लागू ‍औषध नियन्त्रण ब्युरोको नियन्त्रणमा छन्। 

एक हप्ता अघि पक्राउ परेका भारतीय नागरिक तोइत खानले पनि एक पटक हङकङसम्म कोकिन पुर्‍याएबापत प्लेन टिकट र भारतीय रुपैया ३० हजार प्राप्त गर्ने गरेका थिए। उनले यसरी नै २० पटकभन्दा बढी कारोबार गरिसकेको बयान दिएका छन्।

गएको बुधबार प्रहरीले सार्वजनिक गरेको भेनेजुएलाकी नागरिक यमरिसले पनि काठमाडौँबाट भेनेजुएला लगेवापत  १५ सय अमेरिकी डलर पाउने सहमति भएको थियो। 

यमरिस पक्राउ परेपछि पक्राउ परेका तनहुँका दिलबहादुर गुरुङले पनि नेपालबाट हङकङसम्म १ केजी चरेस पुर्याभउँदा नेपाली रुपैया डेढ लाखसम्म लिने गरेको अनुसन्धानले देखाएको छ। उनले एकै पटक सात केजीसम्म चरेस लगेर १५ लाखसम्म कमाएका थिए।  

प्रहरीका अनुसार पछिल्लो समय अन्तर्राष्ट्रियरुपमा लागूऔषध ओसार पसार गर्न बंगलादेश, नेपाल, भारत, पाकिस्तान र चीनका नागरिकलाई कारोबारीहरुले भरिया बनाउँदै आएको पाइन्छ।

एसएसपी थापाका अनुसार भरिया पक्राउ परेपनि मुख्य योजनाकार अझै यकिन हुनसकेको छैन। ‘तर पक्राउ परेका व्यक्तिको बयानको आधारमा नाइजेरियन मूलका जोन र टाइगर भनिने रहेको खुल्न आएको छ’, उनले भने। 

कोकिनको उत्पादन मुख्य रुपमा दक्षिण अमेरिकामा हुने गरे पनि यसको अन्तर्राष्ट्रिय कारोबारमा भने नाइजेरियालीहरु बढी सक्रिय छन्। 
पछिल्लो समय कोकिनको माग पूर्वी एसियाका चाइना, हङकङ, थाइल्यान्ड लगायतका देशहरुमा रहेका छ। 

दुई लाखभन्दा बढी अवैध लागू औषध प्रयोगकर्ता रहेको नेपालमा कोकिन प्रयोग गर्ने भने निकै कम मात्र रहेको प्रहरीको दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell