PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बजेटप्रति सत्ता साझेदार माओवादी नै असन्तुष्ट, एकलौटी गरेको आरोप



रासस

काठमाडौँ : नेकपा माओवादी केन्द्रले व्यवस्थापिका–संसद्मा शनिबार प्रस्तुत आगामी आवको बजेट वक्तव्यको आलोचनात्मक समर्थन गरेको छ। 

माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आज बसेको सो दलको बैठकमा बोल्ने सांसदहरुले सत्ता साझेदार दलसँग जुनरुपमा समन्वय गर्नुपर्ने हो सो नगरीकन बजेट ल्याएको भन्दै आलोचना गरे। 

सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले)ले आफूहरुसँग जुनरुपमा संवाद र सल्लाह गर्नुपर्ने हो सो हुन नसकेको र आफूखुसी परियोजना तथा कार्यक्रम बजेटमा राखेर सत्तासाझेदार दलको भावनालाई आत्मसात् गर्न नसकेको उनीहरुको कथन थियो । 

प्रदेशहरुमा एक÷एक वटा मेडिकल कलेज स्थापना गर्ने कार्यक्रम बजेटमा आएपनि अन्ततः झापा र बुटवललाई नै केन्द्रित गरिएको, जनयुद्ध, जनआन्दोलनका सहिद तथा बेपत्ता नागरिकलाई सुविधा दिने भनिए पनि मूर्त नभएको, अयोग्यको नाममा शिविरबाट निकालिएका लडाकुको विषय मौन रहेको भन्दै सांसदले पार्टी नेतृत्वको ध्यानाकर्षण गराए। 

यस्तै, उनीहरुले जनयुद्धका सहिद परिवारलाई माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा सेयर दिने विषय बजेटमा समेट्न नसकिएको भन्दै किन त्यस्तो गरिएको हो सो विषयमा सरकारको नेतृत्वकर्ता दलसँग गम्भीरतापूर्वक छलफल गर्नुपर्नेमा नेतृत्वलाई सचेत गराए। 

सांसदहरुको आक्रोशपछि अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट सारतः सकारात्मक भएपनि पार्टीले उठाउँदै आएका केही विषय छुटेका बताए। उनले मूलभूत विषयमा सहमति भएपनि केही विषयमा टिप्पणी गर्न लायक रहेको भन्दै सच्याउन पहल गर्ने बताए। 

माओवादी केन्द्रका नेता रामबहादुर थापाले आफूहरु नेतृत्वको सरकारले सुरु गरेको पोखरा विमानस्थल, गौतमबुद्ध विमानस्थल र निजगढ विमानस्थल र केही महत्वपूर्ण परियोजनालाई सरकारको नेतृत्वकर्ता दलले आफ्नै कार्यक्रम भए जसरी बजेटमा प्रस्तुत गरेको टिप्पणी गरे। 

उनले जनयुद्धका सहिद, बेपत्ता नागरिक तथा आमजनतालाई सम्बोधन गर्ने खालको बजेट नआएको भन्दै सो विषयमा पार्टीले असहमति जनाउने बताए। 

माओवादी केन्द्रका अर्का नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेट आंशिकरुपमा सकारात्मक भए पनि पूर्ण नभएको बताए। उनले जनताको अपेक्षालाई बजेटले सम्बोधन गर्न नसकेको भन्दै सकारात्मक विषयलाई कार्यान्वयनमा हेर्नुपर्ने धारणा राखे। 

बैठकमा सहभागी सांसद श्यामकुमार श्रेष्ठ (रामेछाप) ले बजेटका सकारात्मक विषयलाई समर्थन गर्दै छुटेका विषय सम्बोधन गराउन दबाब दिने गरी सदनमा प्रस्तुत हुन नेतृत्वले सांसदहरुलाई निर्देशन दिएको जानकारी दिए । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell