PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पूर्व अर्थमन्त्रीहरुले सोमबारको संसद बैठकमा बजेटको चिरफार गर्ने



रासस

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले शनिबार प्रस्तुत गरेको आगामी आवको बजेट वक्तव्यका सम्बन्धमा पार्टीका तर्फबाट प्रभावकारी रुपमा प्रस्तुत हुन सांसदलाई निर्देशन दिएको छ । 

पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा आइतबार बसेको संसदीय दलको बैठकले सोमबार बस्ने सदनको बैठकमा पूर्वअर्थमन्त्री डा रामशरण महतले पार्टीको तर्फबाट धारणा राख्ने निर्णय गरेको छ । 

बजेट वितरणमुखी भन्दै आलोचना गरेको प्रतिपक्षी दल काँग्रेसले पालैपालो पूर्वअर्थमन्त्रीलाई बजेटको नकारात्मक पाटोका बारेमा धारणा राख्ने गरी निर्देशन दिएको सांसद रमेश लेखकले जानकारी दिए। 

उहाँकाअनुसार सोमबार पूर्वअर्थमन्त्री डा रामशरण महत, मङ्गलबार पूर्वअर्थमन्त्री महेश आचार्य र नेता डा प्रकाशशरण महतलाई विशेष समय लिएर बोल्न निर्देश गरिएको छ । बैठकमा सांसदहरुले बजेटका विभिन्न पाटोमाथि टिप्पणी गरेका थिए। आम जनतालाई केही फाइदा नहुने, कार्यान्वयन हुँदै नहुने बजेट ल्याइएको भन्दै काँग्रेस सांसदले आपत्ति जनाएका थिए। 

उनीहरुले सरकारले बजेटमा एकलौटी गरेको भन्दै प्रतिवाद गर्नुपर्ने धारणा राखेका थिए। आइतबार बिहान बसेको काँग्रेस संसदीय दलको बैठकमा सरकारले प्रस्तुत गरेको बजेट यथार्थको नजिक नभएको भन्दै आलोचना गरिएको थियो । सांसद विमलेन्द्र निधिलगायतले बजेट निर्वाचन केन्द्रित भएको भन्दै विरोध गरे। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell