
काठमाडौं : चितुवाको छालाको अवैध कारोबार र ओसारपसारमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नुवाकोट बेतेनी-१ बस्ने वर्ष २८ का रुपबहादुर तमाङ, सोही ठाउँका २६ वर्षीय सुरेश तमाङ र धादिङ कुम्पुर-९ का ३४ वर्षीय कुलबहादुर घलेलाई आइतबार पक्राउ गरेको हो।
सूचनाका आधारमा पुगेको टोलीले काठमाडौं बुढानिलकण्ठ-६ स्थित रमेश ठाकुरको सैलुनबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो।
उनीहरुको साथबाट ‘Star Bee Cloud’ लेखिएको रातो रङको जेब्रा झोलाभित्रबाट चितुवाको तीन थान छाला बरामद गरिएको छ। ६ फिट ७ इन्च लम्बाइ र १ फिट चौडाइ भएको ध्वांसेचितुवाको छाला एक थान र ६ फिट ७ इन्च लम्बाइ, १ फिट ४ इन्च चौडाइको तथा ८ फिट १० इन्च लम्बाइ, १ फिट ९ इन्च चौडाइको टाउकोदेखि पुच्छरसम्मको दुई थान चितुवाको छाला बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई सोमबार जिल्ला वन कार्यालय हात्तीसार बुझाइँदै छ।
पछिल्लो समय दुर्लभ वन्यजन्तुको चोरीसिकारी र गैरकानुनी ओसारपसार गर्नेलाई प्रहरीले विशेष निगरानीमा राख्दै आएको छ। यस्ता कारोबारमा संलग्नलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा साइटिस महासन्धि १९७५ विरुद्धको अपराधअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ।