PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

​नेविसंघको अधिवेशन असार अन्तिममा, जेठ २५ को बैठकले मिति तोक्ने



रमेश वाग्ले

​नेविसंघको अधिवेशन असार अन्तिममा, जेठ २५ को बैठकले मिति तोक्ने

काठमाडौं : नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले असार अन्तिम हप्ता ११ औं महाधिवेशन गर्ने तयारी थालेको छ।

६ महिनाभित्र महाधिवेशन गर्ने म्याण्डेट पाएर २०६८ साल फागुनमा गठन भएको नेविसंघको वर्तमान कार्यसमितिले चार वर्ष चार महिनापछि महाधिवेशन गर्ने तयारी गरेको हो।

नेविसंघले महाधिवेशनको मिति तय गर्न आगामी २५ गते कांग्रेस कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक डाकेको छ। केन्द्रीय समिति बैठकमा नेविसंघ अध्यक्ष रञ्जीत कर्णले महाधिवेशनको मिति प्रस्ताव गर्ने छन्। नेविसंघले  यस अघि पनि पटक पटक महाधिवेशनको मिति तोकेपनि अन्तिममा रोकिने गरेको थियो।

अध्यक्ष कर्णले आसारभित्र महाधिवेशन गर्न समयको दवाव रहेकाले जेठ २५ गतेको बैठकले मिति तय गर्ने बताए। शेरबहादुर देउवा कांग्रेस सभापति चुनिएपछि ६ महिनाभित्र भातृ संगठनको अधिवेशन गर्ने भनेपनि सबैभन्दा पहिले नेविसंघको महाधिवेशन गर्ने समझदारी भएको थियो।

तर तरुण दल र महिला संघले महाधिवेशनको मिति तय गरिसक्दा समेत महाधिवेनको मिति तय नगरेपछि देउवाका तर्फबाट केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले नेविसंघ नेतृत्वलाई दवाव दिएका थिए। 'सबैभन्दा पहिले नेविसंघको अधिवेशन गर्ने भन्ने सभापतिजी र केन्द्रीय समितिको आसय थियो' महतले भने, 'त्यस अनुरुप नेविसंघ नेतृत्व तातेन, अरुले मिति तय गर्दा समेत औपचारिक निर्णय नगरेपछि मैले पटक पटक दवाव दिनु परेको थियो।'

नेविसंघ अध्यक्ष कर्णले महाधिवेशनको मिति तय भएपछि अब प्रभावित नहुने बताए। 'पहिले पनि पार्टीले नै अधिवेशन रोकेको थियो हामी गर्न तयार भएकै हौं' उनले भने, 'अब महाधिवेशन तोकिएकै समयमा हुन्छ।'

कर्णले महाधिवेशनका लागि विधान मस्यौदा समितिले काम गरिरहेको, ६४ जिल्लामा अधिवेशन भइसकेको बताए। बाँकी ११ जिल्लामा विवाद रहेकाले अधिकार सम्पन्न विवाद समाधान समिति केन्द्रीय समितिबाट नै गठन हुने र त्यसको निर्णय नै आधिकारिक हुनेगरी अधिकारसम्पन्न बनाउने बताए।

यसअघिका कांग्रेस सभापति सुशील कोइरालाको कार्यकालभरी नेविसंघको महाधिवेशन भएन। पटक पटक मिति तोकेपछि स्थगित हुँदै आएको थियो।

सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछि बसेको कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकले भातृ संगठनको अधिवेशन ६ महिनाभित्र गर्ने निर्णय गरेको थियो।

तात्कालिन नेविसंघ अध्यक्ष प्रदिप पौडेललाई समयमा महाधिवेशन गर्न नसकेको कारण देखाउँदै तात्कालीन सभापति कोइरालाले राजिनामा दिन भनेका थिए। सभापतिको आग्रह अनुसार पौडेलले राजिनामा दिएपछि रञ्जित कर्ण अध्यक्ष र बाँकी सबै सदस्य रहनेगरी एकसय सदस्यीय कार्य समिति बनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell