काठमाडौं : राप्रपा नेपालले सूर्यबहादुर थापा, मरिचमान श्रेष्ठ, पद्मसुन्दर लावती र चन्द्रबहादुर गुरुङको नाममा पनि स्मृति प्रतिष्ठान बनाउन माग गरेको छ।
बजेटप्रति असन्तुष्टी जनाउँदै आइतबार जारी विज्ञप्तीमा थापा, श्रेष्ठ, लावती र गुरुङले राष्ट्रको निमित्त योगदान गरेकाले बिभिन्न व्यक्तिहरुको नाममा प्रस्तावित स्मृति प्रतिष्ठानहरुमा उनीहरुको नाम पनि समावेश गर्न माग गरेको हो।
राप्रपा नेपालले बजेट समग्रमा सकारात्मक रहेपनि आफुहरुसँग छलफल र परामर्श नगरेकाले केही कमजोरी र त्रुटीहरु देखिएको बताएको छ। बजेट पुँजी निर्माण भन्दा पनि वितरणमुखी भएको र धेरै महत्वपूर्ण विषय छाडेको उसको आरोप छ।
कर्मचारीहरुको तलब वृद्धि भएपनि निम्न तहका कर्मचारीको तलब वृद्धि प्रगतिशील र न्यायोचित नभएको प्रवक्ता राजाराम श्रेष्ठले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।
राप्रपा नेपालले धर्म परिवर्तनको बिषयसँगै सनातन धर्मको रक्षाको निमित्त कुनै कार्यक्रम नआउनु दुःखद भएको बताएको छ। उसले महत्वपूर्ण धार्मिक क्षेत्रहरुको गुरुयोजना बनाउँदा देवघाट र स्वर्गद्धारी क्षेत्रलाई गुरुयोजनामा राखी अगाडि बढाउन माग गरेको छ।
स्थानीय निकायको निर्वाचन, गाविस अनुदान रकम र सामाजिक सुरक्षा भत्ता वृद्धिलाई भने राप्रपा नेपालले सकारात्मक भनेको छ। उसले भू उपयोग नीति, सुकुम्बासी, हलिया र मुक्त कमैयाको समस्या समाधानको विषय बजेटमा आएकोमा सन्तोष व्यक्त गरेको छ।
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममा समानुपातिक निर्वाचन पद्धतिबाट निर्वाचित सांसदहरुको भूमिका र हैसियत समान नभएको भन्दै असन्तुष्टी जनाएको छ।