PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

सिँचाइ मन्त्री उमेशकुमार यादव भन्छन्- 'अब सोलारबाटै सिँचाइ'



पहिलोपोस्ट

सिँचाइ मन्त्री उमेशकुमार यादव भन्छन्- 'अब सोलारबाटै सिँचाइ'

काठमाडौं : सिँचाइ मन्त्री उमेशकुमार यादवले चालू आर्थिक वर्षबाटै सौर्य ऊर्जामार्फत सिँचाइको व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
 
सिँचाइ विभागमा सोमबार आयोजित एक कार्यक्रममा उनले नेपालमा सौर्य ऊर्जाबाट सिँचाइ हुने सम्भावना रहेकाले नमुनाको रुपमा भए पनि कार्यक्रम बनाउन निर्देशन दिए। ‘अर्को आर्थिक वर्ष नकुर्नुस्, भोलिदेखि नै यसको अध्ययनतिर लागिहाल्नुस्,’ उनले भने, ‘मधेसका विभिन्न १० ठाउँमा नमुनाका लागि सौर्य ऊर्जाबाट पम्प जडान गरौं, त्यो सफल भयो भने आउने आर्थिक वर्षमै अन्यत्र लागू गर्न सकिन्छ।’
 
मुलुकमा हाल झन्डै ७ लाख हेक्टर जमिनमा मात्रै बाह्रैमास सिँचाइ सुविधा उपलब्ध रहेको भन्दै उनले सौर्य ऊर्जाबाट स्यालो र डिप ट्युबवेल जडान गर्दा थप ३ लाख हेक्टर जमिनमा सिँचाइ पुग्ने बताए।
 
सोलार प्यानल खेतमा राखेपछि चोरी हुने सम्भावना बढ्नेबारे उठाएको कर्मचारीहरुले जिज्ञासामा उनले भने, ‘चोरी हुन्छ भने हुन दिनुस्। त्यो पनि एउटा परीक्षण नै हुन्छ। चोरी हुन्छ भन्दैमा कार्यक्रम रोक्नु हुँदैन।’
 
विभागका प्रमुख रमानन्द यादवले सिँचाइमा सौर्य ऊर्जाका लागि यसपटकको बजेटको व्यवस्था गरिएकाले पनि कार्यक्रम कार्यान्वनयमा ल्याउन सजिलो हुने भनाइ राखे। समृद्ध तराई-मधेस सिँचाइ विशेष कार्यक्रमअन्तर्गत नै यस कार्यक्रमलाई सञ्चालन गरिने बताउँदै उनले ३५ प्रतिशत बजेट सौर्य ऊर्जामा लगाउने जानकारी दिए।
 
स्यालो ट्युबवेलमा मेसिन जडान गरी सोलारबाट पानी तान्न सकिन्छ। यो प्रविधि भारतमा सञ्चालनमा आएको छ। एक दिनमा १ लाख ३० हजार लिटर पानी दिने सो प्रविधि सुरुमा खर्चालु किसानलाई धेरै फाइदा पुग्ने विज्ञहरु बताउँछन्। १ हर्स पावर मेसिनका लागि ७ लाख, ५ हर्स पावर मेसिनका लागि १० देखि ११ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell