PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

दोस्रो पटक एमाले अर्थमन्त्रीलाई लाग्यो बजेट गोपनीयता भङ्ग गरेको आरोप



पहिलोपोस्ट

दोस्रो पटक एमाले अर्थमन्त्रीलाई लाग्यो बजेट गोपनीयता भङ्ग गरेको आरोप

काठमाडौं  : प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले बजेटको गोपनीयता भंग गरेको भन्दै संसद बैठक अवरुद्ध पारेको छ। सोमबार संसद बैठकमा बोल्दै कांग्रेस नेता रामशरण महतले पत्रिकामा छापिएको र संसदमा प्रस्तुत बजेटमा कुनै फरक नभएको भन्दै छानबिन गर्न समिति गठनको माग गरेको हो।

कांग्रेसको अवरोधपछि संसद बैठक आधा घण्टाका लागि स्थगित भएको छ। छानविन समिति गठन नगरेसम्म संसद चल्न नदिने कांग्रेसले जनाएको छ।

गोपनीयता भङ्ग भएकै हो?

शनिबार साँझ ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा बजेट पेश गर्नुअघि शनिबार बिहान बजारमा आएका पत्रपत्रिकाहरुले कतिको बजेट आउँछ भनेर लेख्न सकेका थिएनन्। तर सोही दिन नागरिक दैनिकमा छापिएको समाचारमा भने १० खर्ब ४८ अर्ब ९२ करोडको बजेट आउनले उल्लेख थियो।


नागरिकमा प्रकाशित समाचार

त्यस्तै समाचारमा पूँजीगत बजेटमा ३ खर्ब ११ अर्ब ९४ करोड र वित्तीय व्यवस्थापनमा १ खर्ब १९ अर्ब रुपैयाँ विनियोजन गरिएको उल्लेख थियो। 

यो अङ्क अर्थमन्त्री पौडेलले साँझ प्रस्तुत गरेको बजेटसँग मिलेको थियो। पत्रिकामा छापिएपछि बजेटको फिगर परिवर्तन हुनसक्ने श‌ंका गरिए पनि त्यस्तो भएको थिएन। 

दोस्रो पटक गोपनीयता भङ्गको आरोप

कांग्रेसले संसदमा बजेटको गोपनीयता भङ्ग गरेको आरोपमा छानबिन समिति गठनको माग गरेको यो दोस्रो पटक हो। संयोगले पहिलो पटक कांग्रेसले यस्तो माग गर्दा पनि एमाले कै सरकार र एमालेकै अर्थमन्त्री थिए। 

२०६८ सालमा झलनाथ खनाल नेतृत्वको सरकार रहेका बेला अर्थमन्त्री भरतमोहन अधिकारीले पेश गरेको बजेट निजी अखबार र सरकारी वेवसाइटमार्फत् पहिले नै सार्वजनिक गरेर राज्यको गोपनीयता भंग गराएको र संसदको मानहानी गरेको भन्दै त्यतिबेला पनि कांग्रेसले विरोध गरेको थियो। 

अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग कांग्रेसले गरे पनि  अधिकारीले आफ्नो हैन सिस्टमको त्रुटीले त्यसो भएको जवाफ दिएका थिए।  

त्यतिबेला लक्ष्मण घिमिरेको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति बनाइएको थियो। समितिले बजेट चुहिनुमा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारी र अर्थसचिव कृष्णहरि बास्कोटालाई दोषी ठहर गरेको भनिए पनि संसदमा टेबल नगरिएको कारण प्रतिवेदन गोप्य राखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell