PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

श्रीको खोजीमा कथाकार इस्माली



पहिलोपोस्ट

श्रीको खोजीमा कथाकार इस्माली

काठमाडौं : कथाकार इस्मालीको नयाँ कथा संग्रह ‘श्रीको खोजी’ सार्वजनिक भएको छ।
 
भृकुटीमण्डपमा जारी बृहत् पुस्तक प्रदर्शनीको अवसरमा आइतबार पुस्तकको विमोचन गरिएको हो।
 
पुस्तकमाथि बोल्दै लेखक निनु चपागाई‌ले इस्मालीका पहिलेका कथाको तुलनामा केही कथा कमजोर रहेको टिप्पणी गरे। श्रीको खोजीलाई उनले विविधताको एकताको रुपमा आएको कृतिको रुपमा लिएका छन्। राजनीतिक अवसरवादिता, अपराधीकरण, प्रशासनिक भ्रष्टाचार, न्याय प्रशासनमा देखिने विसंगति, दलित आन्दोलनमा देखिने खराबी, मधेस आन्दोलन, पञ्चायत, संकटकाली अवधिका चित्रणलाई पुस्तकले समेटेकाले गहकिलो बनेको उनको भनाइ थियो।

‘उहाँले २०३१ सालबाट लेख्न सुरु गर्नुभयो। ५–५ वटा कथा लेखिसकेपछि मात्र इस्माली हुनुभयो,’ उनले लेखकको इतिहास खोतले, ‘त्यहाँभन्दा अगाडि उहाँ महेश गरिब हुनुहुन्थ्यो। महेश गरिबको नामबाट एउटा कविता र ४ वटा कथा लेखिसकेपछि मात्रै इस्माली बन्नुभयो।’

यस्तै, लेखक खगेन्द्र संग्रौलाले अघिल्लो खण्डका कथा पढ्दा कथाजस्तो नलागे पनि पछिल्ला खण्डमा निकै राम्रा कथा रहेको भन्दै प्रशंसा गरे। ‘यस संग्रहका रहेका पाँच/सात कथा पढिसक्दा माछोमाछो कथाका इस्मालीलाई मैले भेट्न सकिनँ,’ उनले भने, ‘उहाँले धेरै चलाखी गर्नुभएछ। पहिले पढेका कथा पनि मैले पछाडितिर पाएँ।’
 
अर्का वक्ता समीक्षक राम लोहनीले भने धेरैजसो कथा राजनीतिक विषयका र विशेषगरी दक्षिण वामपन्थी विकृति-विसंगतिमा केन्द्रित रहेको बताए। उनले भने, ‘कतिपय कथाले राजनीतिभित्र लुकेर रहेका अप्ठेरा प्रवृत्तिहरुलाई उजागर गरेका छन्।’
 
समाजका सूक्ष्म विषयलाई टिपेर कथा बुन्न सिपालु इस्मालीका यसअघि माछो माछो भ्यागुत्तो, घाम घामजस्तो छैन, काट जर्किन डी, इस्मालीका प्रतिनिध कथा संग्रह प्रकाशित भइसकेका छन्। उनको यो पाँचौं पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो। पुस्तकको मूल्य तीन सय रुपैयाँ राखिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell