.jpg)
काठमाडौं : नेकपा माओवादी केन्द्रको मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघको छैठौं महाधिवेशनबाट अध्यक्षमा फेरि शालिकराम जमरकट्टेल निर्वाचित भएका छन्।
शनिबार र आइतबार काठमाडौंमा भएको महाधिवेशनले अघिल्लो समितिका अध्यक्ष जमरकट्टेलकै अध्यक्षतामा १ सय ७६ सदस्यीय समिति चयन गरेको छ। जसको पदाधिकारीमा नै ३३ जना छन्।
महासंघको उपध्यक्षमा जय कार्की, गणेश कार्की, उषा देवकोटा र धनबहादुर विक चयन भएका छन्। महासचिवमा जगत शिंखडा चयन भएका छन्। त्यस्तै ९ जना उपमहासचिव, १७ जना सचिव र कोषाध्यक्ष पनि महाधिवेशनबाट निर्वाचित भएका छन्।
समेटिएनन् एकताबाट आउनेहरु
अखिल नेपाल ट्रेड युनियन महासंघ तत्कालीन एकीकृत नेकपा माओवादीको मजदुर संगठन हो। अहिले एमाओवादीमा अरु १० माओवादी घटकहरु समायोजन भइ नयाँ पार्टी नेकपा माओवादी केन्द्र बनेको छ।पार्टी एकता भइसकेपनि नेकपा माओवादी केन्द्रको यो मजदुर संगठनमा भने एकता प्रक्रियाबाट आएका अरु पार्टीका मजदुरहरु अटाएका छैनन्। महाधिवेशनमा देशभरीबाट आएका प्रतिनिधिमा पनि एकता भएका अरु पार्टीका प्रतिनिधि थिएनन्।
पार्टी एकता भन्दा पहिला नै महाधिवेशनको मिति तय गरेकाले अरु पार्टीका मजदुर संगठनहरुलाई समाहित गर्न नसकेको उपाध्यक्ष गणेश रेग्मी बताउँछन्। 'अहिले एकता प्रक्रियाबाट आएका साथीहरु हुनुहुन्छ' उनले भने 'महाधिवेशनको मिति पहिले नै तोकेकाले उहाँहरुलाई यही अधिवेशनमा समेट्न सकेनौं, एक डेढ महिनाभित्रै सम्मेलन गरेर समेट्छौं।' त्यतिबेला अहिलेको कार्यसमिति र पदाधिकारी संख्या थपेर अरु मजदुर संगठनका प्रतिनिधिहरुलाई समेट्ने बताए।
एकता प्रक्रियामा आएका १० वटा समूहमध्ये ३ वटासँग मात्र मजदुर संगठन रहेको महासचिव जगत शिंखडाले बताए। रामबहादुर थापा बादल नेतृत्वमा आएको नेकपा माओवादी, मातृका यादव नेतृत्वको नेकपा माओवादी र मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका मजदुर संगठन मात्र रहेको उनले बताए। 'उहाँहरुले पनि तयारी गरेर आउँछौं भन्नुभएको छ, उहाँहरु आएपछि छलफल गरेर एकता गर्छौं' शिंखडाले भने।