PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

​कांग्रेसको अवरोधले संसद तेश्रो पटक पनि स्थगित



पहिलोपोस्ट

​कांग्रेसको अवरोधले संसद तेश्रो पटक पनि स्थगित

काठमाडौं  : प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले बजेटको महत्वपूर्ण तथ्य संसदमा प्रस्तुत हुनुअघि नै बाहिरिएको भन्दै सोमबार लगातार तेश्रो पटक संसद बैठक अवरुद्ध गरेको छ।

शनिबार अर्थमन्त्री विष्णु पौडेलले संसदमा बजेट पढ्नुअघि नै पत्रपत्रिकामा बजेटको अंक लगायतका गोप्य सूचनाहरु छापिएको भन्दै कांग्रेस संसदीय छानबिन समिति गठनको माग गर्दै बैठक अवरुद्ध गरेको हो। 

सोमबार बिहान ११ बजे बोलाइएको बैठकको सुरुमा बोल्दै कांग्रेस नेता  डा. रामशरण महतले पत्रिकामा छापिएको र संसदमा प्रस्तुत बजेटमा कुनै फरक नभएको भन्दै छानबिन गर्न समिति गठनको माग गरे। त्यसपछि कांग्रेस सांसदहरुले अवरोध गरेपछि आधाघण्टाका लागि बैठक स्थगित भएको थियो। साढे १२ बजे दोश्रो पटक बैठक सुरु भएपनि कांग्रेस नेता रमेश लेखकले बोलेपछि फेरि संसद १: ३० सम्म बैठक स्थगित भयो।

साढे १ बजे सुरु भएको बैठकमा कांग्रेस नेता महेश आचार्यले बोलेपछि फेरि अवरुद्ध भयो। संसद बैठक तेश्रो पटक अवरुद्ध भएपछि सभामुख ओनसरी घर्तीले सोमबार नै दिउँसो ३ बजेका लागि बैठक बोलाएकी छन्।

कांग्रेसले बजेटको गोपनीयता भंग भएको विषयमा छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गरेको छ। शनिबार संसदमा बजेट पेश हुनुअघि नागरिक दैनिकमा बजेट प्रकाशित भएको कांग्रेसले आरोप लगाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell