
- हरि देवकोटा-
पर्यटकीय क्षेत्र चुम भ्यालीका फाँटहरु अहिले गहुँले ढाकिएको छ। चीन सँग सिमाना जोडिएको छेकम्पार गाविसको ९ वटै वडामा गहुँ खेती हुन्छ। वडा नम्बर ३, ४ र ५ मा ठूला फाँटहरु रहेका छन्।
यहाँ गहुँ पाक्न ११ महिना लाग्छ। असोजमा रोपेको गहुँ भित्र्याउन साउनसम्म कुर्नुपर्छ। उच्च हिमाली क्षेत्र भएकाले यहाँ बालीनाली धेरै ढिलो पाक्छ। जेठ महिनामा गहुँले बाला हाल्ने समय हो।
यहाँको गहुँको जात अरु ठाउँको भन्दा भिन्न छ। स्थानीय वासिन्दाका अनुसार अहिलेसम्म गाउँमा अरु जातको गहुँ लगाइएको छैन। उत्तरी मुस्ताङमा पनि यो जातको गहुँ थोरै मात्रामा पाइने उनीहरु बताउँछन्।

मैले छेकम्पार बसेको दुवै दिन गहुँकै ढिँडो खाएँ। त्यहाँ भातको मुल्य प्रति प्लेट ३ सय रुपैयाँ र ढिँडोको मुल्य २ सय रुपैयाँ छ। ढिँडो निकै मिठो लाग्यो। पर्यटक र स्थानीय वासिन्दा बोक्ने हेलिकप्टरका पाइलटहरु यहाँ पुगेका बेला गहुँ ल्याउन भुल्दैनन्।
यहीँको गहुँ कपन लगायत काठमाडौंका अरु गुम्बाका लामाहरुलाई पनि पठाइन्छ। बाहिर पढ्न बसेका विद्यार्थीहरुले पनि गहुँ ल्याउँछन्। शुद्ध प्रांगारिक भएकाले मधुमेहका विरामीहरुले पनि यहाँको गहुँ प्रयोग गर्छन्। अहिलेसम्म यो गाउँमा रासायनिक मल नै पुगेको छैन।
बाँदर लखेट्न गुलेली पनि चलाउँदैनन्
यो क्षेत्रमा स्थानीय वासिन्दालाई बाँदरले गहुँ खाएर दुख दिने गरेको छ। तर स्थानीयले बाँदरलाई बन्दुक त के गुलेली पनि हान्दैनन्। कुकुर लगाएर मात्र लखेट्छन्। यो वौद्ध धर्माबलम्बीको बसोबास क्षेत्र भएकाले यहाँ हिंसा वर्जित छ। पशुपंक्षीहरुको हत्या गर्न निषेध छ। गहुँ बाहेक यस क्षेत्रमा आलु, फापर र तोरी खेती हुन्छ।यहाँ खेती नहुने ठाउँमा वस्ती र गुम्बा छ भने खेतीयोग्य जमिनमा गहुँ रोपिएको छ। डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला हेलिकप्टरबाट डोजर झारेर यहाँ सडक खन्न थालिएको छ। तर सडक फाँटको बीचबाट नभइ छेउ वा कुनाबाटमात्र खनिएको छ।

वौद्ध समुदाय भएकाले यहा वौद्ध भिक्षुहरुको बोलवाला छ। सरकारी निकाय र संघसंस्था भन्दा स्थानीय मानिसहरु लामाले भनेको मान्छन्। यस क्षेत्रमा थोरै मात्र पर्यटक पुग्छन्।
यहाँका मानिसहरु भुइँतल्लामा वस्तुभाउ बाँध्छन् र माथिल्लो तल्लामा आफु बस्छन्। चिसो ठाउँ भएकाले वस्तुभाउ र गोबरको गन्ध पनि आउँदैन र उनीहरुलाई चिसोबाट बच्न पनि सजिलो हुन्छ।
यहाँबाट ५/६ घण्टा हिँडेपछि चिनियाँ बजारमा पुगिन्छ। यहाँका स्थानीय वासिन्दालाई चीनमा पुग्न असजिलो पनि छैन। जिल्ला प्रशासन कार्यालयले दिने हरियो पास देखाएर उनीहरु चीन जान सक्छन्।

स्थानीय वासिन्दालाई चीनबाट सामान ल्याउँदा सस्तो पर्ने भएकाले उनीहरु त्यतै जान्छन्। नेपाली बजारमा नै जाने हो भने उनीहरुको नजिकको ठूलो बजार भनेको आरुघाट हो। जुन ठाउँमा पुग्न उनीहरुलाई ४ दिनसम्म लाग्छ।
अहिले छेकम्पारमा चीनबाट एक बोरा सिमेन्ट ल्याउँदा १ हजार ६ सय रुपैयाँ पर्छ। गोरखाबाट लैजाने हो भने ५२ सय रुपैयाँ पर्छ।


