
काठमाडौं : राजधानीकेन्द्रित आन्दोलन गरिरहेको संघीय गठबन्धनले रिले अनसनको नयाँ संघर्ष कार्यक्रम सार्वजनिक गरेको छ।
संयुक्त राष्ट्रिय आन्दोलनका कार्यक्रम भन्दै गठबन्धनले जेठ २५ गतेदेखि रिले अनसन लगायतका विरोध कार्यक्रम गर्ने भएको छ। २५ गतदेखि सुरु हुने अनसनको कार्यक्रम असार मसान्तसम्म हरेक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सहिद मञ्चमा हुने जनाइएको छ। गठबन्धनका प्रत्येक घटकबाट आ–आफ्ना भ्रातृ संगठनहरूलाई पनि सहभागी गराएर १/१ जना अनसनमा सामेल हुने गठबन्धन संयोजक उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रत्येक दिन ३ बजेपश्चात् अनसन स्थलमा साहित्यिक कार्यक्रम, सांस्कृतिक सभा र जनसभाको आयोजना गर्ने र प्रदेश तथा जिल्लामा पनि यही प्रकृतिका आन्दोलनका कार्यक्रम राखिने गठबन्धनले जनाएको छ।
तराईमा आन्दोलनरत दलहरुले उठाउँदै आएका मागमा केही माग थपेर संघीय गठबन्धनले सरकारसमक्ष २६ बुँदे माग अघि सारेको थियो। तराईमा दुई प्रदेश हुनुपर्ने, निर्वाचन क्षेत्र विभाजन गर्ने अधिकार प्रदेशलाई दिनुपर्ने, वैवाहिक नागरिकताको प्राप्ति संविधानमा नै प्रस्ट पार्नुपर्ने लगायतका मागहरु त्यसमा छन्।
गठबन्धनले जेठको पहिलो हप्ता तीन दिन सिंहदरबार र एक दिन प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेको थियो। सरकारले आफ्ना माग नसुनेको भन्दै उसले राजधानीकेन्द्रित आन्दोलनलाई १० दिन थप गरेको थियो। पोखरा र वीरगन्जमा पनि विरोधसभा गरेको गठबन्धन फेरि राजधानीमै रहेर आन्दोलन गर्ने निर्णयमा पुगेको हो।
‘सत्ता पक्ष गम्भीर नदेखिएको मात्र होइन देशमा पटकपटक भएका क्रान्ति, विद्रोह र आन्दोलनका जनादेश, आन्दोलनकारीहरूसँग राज्यले गरेका सम्झौता र सहमतिहरूलाई समेत उल्ट्याएर एक पक्षीय रूपमा बढिरहेको’ विज्ञप्तिमा जनाइएको छ।
सङ्घीयता, समानुपातिक प्रतिनिधित्व, समावेशी लोकतन्त्र, प्रादेशिक स्वायत्तता, स्वशासन, धर्म निरपेक्षता तथा सबै उत्पीडित समुदायहरूको पहिचान स्थापित हुने गरी सङ्घीय संरचना निर्माण तर्फ लाग्नु भन्दा सरकार आफ्नो सत्ता सुदृढ गर्न नै लागी परेको छ ।
सरकारी नीति तथा कार्यक्रम र बजेट भाषणमा उत्पीडित समुदायहरूको पहिचानलाई बेवास्ता गरेर स्थानीय निकायको पुनर्संरचना नगरी स्थानीय निकाय निर्वाचन गर्ने घोषणा गर्नु सङ्घीयता समाप्त गर्ने षड्यन्त्र भएको गठबन्धनको ठहर छ।
सरकारसँग वार्ताका लागि आह्वान गरे पनि पछिल्लो समय सरकार-गठबन्धन संवाद टुटेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १० गतेका लागि पत्राचारै गरेर मधेसी मोर्चालाई वार्ताका लागि बोलाए पनि मोर्चाले वार्ता लत्याएको थियो।