PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

के १० करोड फिरौती तिरेर रिहा भएका हुन् केडिया?



पहिलोपोस्ट

के १० करोड फिरौती तिरेर रिहा भएका हुन् केडिया?

काठमाडौँ : वीरगञ्जका उद्योगी सुरेश केडियालाई भारतीय प्रहरीले रेस्क्यु गरेको समाचार आए पनि खासमा उनलाई परिवारले १० करोड फिरौती बुझाएपछि मुक्त गरिएको नयाँ रहस्य भारतीय मिडियाले खोलेको छ। 

भारतीय टेलिभिजन आजतकका अनुसार केडिया परिवारले १० करोड फिरौती रकम मुम्बई पठाएपछि उनलाई मुक्त गरिएको थियो। 

आजतकले पारिवारिक स्रोतलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार पाँच-पाँच करोड गरी दुई पटक हुन्डीबाट मुम्बईमा रकम पठाएपछि बल्ल अपहरणकारीले आइतबार केडियालाई मोतिहारीको गाउँमा ल्याएर छाडेका थिए। अपहरणकारीहरुले नै प्रहरीलाई केडिया त्यहाँ रहेको जानकारी दिएपछि प्रहरीले त्यहाँ पुगी उद्दार गरेको थियो। 

हिजो रक्सौलमा आयोजित पत्रकार सम्मेलनमा केडियाले फिरौती रकम नबुझाएको दावी गरेका थिए।  

आजतकका अनुसार सुरेशका सांसद भाइ विमल केडियाले १० करोड रकम जुटाएका थिए। सदभावना पार्टीका सांसद केडिया भाइ अपहरण हुँदा पनि वीरगञ्ज नजानुको कारण काठमाडौँमा बसेर फिरौती रकम मुम्बई पठाउनु रहेको प्रहरी स्रोतलाई उद्धृत गर्दै उसले दावी गरेको छ। 

फरक बयान

रक्सौलमा आयोजित प्रेस सम्मेलनमा भारतीय एसपीद्वय विनयकुमार र जितेन्द्र राणाले आफूहरुले छापा मारी केडियाको उद्दार गरेको र पुलिस देखेपछि अपहरणकारी भागेको दावी गरे पनि केडियाले भने आफूलाई कालो चश्मा लगाउन दिएर मोटरसाइकल बीचमा राखी एक ठाउँमा छाडिदिएको र त्यहीँबाट आएर प्रहरीले उद्दार गरेको बताएका थिए। 

आइतबार बिहान ११ बजे मोटरसाइकलमा दुई जनाको बीचमा आफूलाई बसाएर छतौनी चोकमा छोडेर गएपछि प्रहरीले आफूलाई उद्दार गरेको केडियाले पत्रकार सम्मेलनमा बताएका थिए। 

बेतियाका एसपी विनयकुमारले भने शनिबार राति नै अपहरणकारीहरुले राखेको विभिन्न ठाउँमा छापा मार्न थालेकोले डरले अपराधीहरुले केडियालाई छतौनी चोकमा छोडेको बताएका थिए।

केडियालाई गत बिहीबार बारा जिल्ला ,महागढिमाई नगरपालिकामा पर्ने बगवनको पसहा पुलबाट भारतीय नम्बरप्लेटको स्कारपियो लिएर नेपाल प्रवेश गरेका ६ जना हतियारधारी समुहले चालकलाई गोली हानी अपहरण गरी लगेका थिए ।

पक्राउ परेका व्यक्ति अपहरण भएकै दिन नियन्त्रणमा

आजतकका अनुसार  पत्रकार सम्मेलनमा देखाइएका अनुहार छोपिएका व्यक्तिलाई अपहरणकै दिन सुगौली पुलिसले गिरफ्तार गरिसकेको थियो। रन्जन झा नामका ती व्यक्ति गाडीका चालक रहेको हिजोको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो। उनी सीमावर्ती सहर रक्सौल निवासी हुन्। भारतीय प्रहरीले उनको बयान सार्वजनिक गरेको छैन।

रक्सौल पुलिसले त्यहाँ हिरासतमा लिइएका आधा दर्जनभन्दा बढी शंकास्पदलाई मिडियासामु किन सार्वजनिक नगरिएको भन्ने प्रश्न पनि आजतकले गरेको छ। 

अपहरणमा प्रयोग भएको बीआर ०५ ३२३९ नम्बरको गाडी ,एक थान बन्दुक, ४ गोली र तीन मोबाइल बरामद गरिएको छ। बरामद गरिएको गाडी रक्सौलका धुरेन्द्रप्रताप कामतको थियो। रन्जनले यो गाडी भाडामा चलाउँदै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell