PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

​रिल होइन रियल : ९ दिन हिरासत, ४ महिना मुद्दा अन्तिममा निर्दोष



सविन ढकाल

​रिल होइन रियल : ९ दिन हिरासत, ४ महिना मुद्दा अन्तिममा निर्दोष

काठमाडौं : खैरो कोट, खैरै पाइन्ट र सेतो टिसर्ट, आँखामा कालो चस्मा। बाक्लै दाह्री पालेका उनी माइकको अघि ठिङ्ग उभिए। अनुहारमा खुसी जति थियो त्यो भन्दा बढी आवेग र आक्रोश देखिन्थ्यो।

उनी बोल्न थाले। उनको बोली फिल्मी डायलग झै लाग्थ्यो।  

'प्रहरीले मलाई ढोकामा थुनेको कुखुरा जस्तै बनायो। मजस्तो पढे/बुझेकालाई त चक्रव्युहमा हालिन्छ भने दुरदराजका सोझा जनताको हालत के होला?'

उनका तिखा प्रश्न प्रहरीमाथि तेर्सिएका थिए। उनी अरु कोही नभइ कलाकार राज घिमिरे थिए, चपली हाइट फिल्मका हिरो। ३ दर्जनभन्दा बढी म्युजिक भिडियोका मोडल। 'शारीरिक र मानसिक रुपमा मेरो कलाकारिता तुहाउन खोजियो,' उनले थपे।

तपाईँ कुनै फिल्म सुटिङको रिपोर्ट पढिरहनु भएको छैन। कलाकारको प्रहरीमाथिको आक्रोस पढिरहनुभएको छ, उनीहरुकै शब्दमा।

'शारीरिक र मानसिक रुपमा मेरो कलाकारिता तुहाउन खोज्यो, प्रहरीले। किन कलाकारलाई तारो बनाएको छ ?' उनको प्रश्न थियो।

कलाकार घिमिरेको फेरिएको पहिचान र त्यसको पीडा उनी पोखिरहेका थिए। उनको आजको परिचय एक अपहरणकारी र शरीरबन्धकको मुद्दामा सफाइ पाएको अभियुक्त बनेको छ।
 
गोदावारीका कुमार सिलवालले 'अपहरण गर्ने धम्की पाएको' जाहेरीको आधारमा प्रहरीले उनलाई पुस २ गते पक्रियो। पक्राउ परेपछि अपहरणकारीको मुद्दामात्र लगाएन डन, अपराधी र भ्रष्टाचारी समेत भन्दै ९ दिनसम्म हिरासतमा राख्यो।

त्यसैको पीडा उनी पोखिरहेका थिए। प्रहरीले नै कतिपय युवालाई झुटा मुद्दा लगाएर देश नै छाड्ने र मर्ने सम्मको अवस्था बनाएको आरोप पनि प्रहरीको टाउकोमा थुपारे उनले। ९ दिन पछि कारागारबाट तारेखमा छुटेका उनी आफू बेकसुर भएको भन्दै ललितपुर जिल्ला अदालतको ढोका ढक्ढकाउन पुगे। करिब चार महिनापछिको बयान र बहसपछि उनलाई अदालतले सफाइ दियो। निर्दोष सावित भए उनी। त्यतिन्जेल उनको फिल्मी कलाकारको पहिचान 'डन' र 'अपहरणकारी'मा रुपान्तरित भइसकेको थियो। सफाइ पाएपछि उनी भावुक देखिए।
 
चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले यसरी चलचित्र क्षेत्रका व्यक्तिलाई  विना कारण दु:ख दिएकोमा आफू स्तव्ध भएको भन्दै 'धर्म र्निवाह' गरे। राज घिमिरेको मात्र हैन यस्तो गुनासो गायिका रेखा शाहको पनि रहेछ। उनलाई पनि ठगी मुद्दाको आरोपमा प्रहरीले पुस महिनामा नै पतिसहित समात्यो। प्रहरीले उनलाई ठगी आरोपमा काठमाडौं जिल्ला अदातलमा मुद्दा दायर गरायो। दावी पूरा नभएपछि अदालतले उनीमाथि लगाएको मुद्दा खारेज गर्‍यो। त्यतिन्जेल उनको कलाकार पहिचान धुमिल भइसकेको थियो।

प्रहरीले कारागारमा औषधिसम्म खान नदिएको गुनासो रेखा शाहले गरिन्। पछिल्लो समय कलाकार समातिने, उदालतमा तारेख धाउने र अन्तिममा निर्दोष सावित हुने क्रम बढेको छ। कलाकारको सामाजिक जीवन नै धरापमा परेकोमा उनीहरु आक्रोशित छन्।

सिनेमाका प्लटहरुमा हिरो-हिरोइन यस्तै परिवन्दमा परेर जेल जाने गर्छन्, संघर्ष गर्छन् र जित्छन्। यहाँ भने रिलमा होइन रियलमै कलाकारहरु सिकार भइरहेका छन्। उनीहरुको आक्रोशको जवाफ सायद कुनै दिन नेपाल प्रहरीले दिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell