काठमाडौं : बजेटको महत्वपूर्ण सूचना लिक भएको विषयमा छानबिन गर्न सत्तारुढ दल तयार भएपछि मंगलबार प्रतिपक्षी नेपाली कांग्रेसले सदन अवरोध नगर्ने भएको छ।
मंगलबार बिहान संसद भवन नयाँ वानेश्वरमा बसेको प्रतिपक्षी कांग्रेसको बैठकमा प्रमुख सत्तारुढ दलहरुले बजेट लिक बारे छानबिन गर्न समिति बनाउन सहमति जनाएका हुन्। नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सत्तारुढ दलहरु छानबिन समिति गठन गर्न तयार भएको बताए। प्रमुख दलका प्रमुख सचेतहरुले छानबिन समितिको क्षेत्राधिकार टुंगो लगाउन सभामुख ओनसरी घर्तीलाई आग्रह गरेको उनले जानकारी दिए।
प्रतिपक्षी नेपाली कांग्रेसले बजेटको गोपनीयता भंग गरेर सरकारले सदनको विशेषाधिकार हनन गरेको भन्दै सोमबार चार पटक संसद अवरोध गरेपछि बैठक मंगलबारलाई सारिएको थियो। उसले बजेट लिकबारे छानबिन गर्न समिति गठन गर्नुपर्ने माग गरेको थियो। मंगलबार यसै विषयमा छलफलगर्न बसेको सत्तारुढ र प्रतिपक्षी दलको बैठक बसेको थियो।
यसैबीच मंगलबार बिहान ११ बजे बोलाइएको संसद बैठक सूचना टाँस गरेर २ घण्टाका लागि स्थगित गरिएको छ। संसद सचिवालयले सूचना जारी गर्दै विशेष कारणवश बैठक बस्न नसक्ने भएकाले १ बजेका लागि सारिएको जानकारी दिएको छ।
प्रतिपक्षी कांग्रेसको माग संबोधन भएकाले संसदमा मंगलबारदेखि बजेटबारे छलफल अघि बढ्ने भएको छ।