PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

१० हजार रन पूरा गर्ने कान्छा खेलाडीमा एलेस्टर कुकको रेकर्ड



पहिलोपोस्ट

१० हजार रन पूरा गर्ने कान्छा खेलाडीमा एलेस्टर कुकको रेकर्ड

इङ्ग्लिस क्रिकेट टिमका कप्तान एलेस्टर कुक टेस्ट क्रिकेटको इतिहासमा १० हजार पूरा गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्। सोमबार श्रीलंका विरुद्ध दोस्रो टेस्टको दोस्रो इनिङमा कुकले उक्त उपलब्धी हासिल गरेका हुन्।

दोस्रो टेस्ट सुरु हुनुअघि कुक उक्त उपलब्धी हासिल गर्नबाट २० रनले मात्रा टाढा थिए। तर पहिलो इनिङमा १५ रन बनाएर आउट भएपछि कुकले दोस्रो इनिङमा १० हजार रन पूरा गरेका हुन्। दोस्रो इनिङमा ४७ रन बनाउँदै अविजित रहेका कुकको टेस्टमा १० हजार ४२ रन पुगेको छ। कुकले उक्त उपलब्धी हासिल गरेको दिन इङ्गल्याण्डले श्रीलंकालाई ९ विकेटले हराएको छ र श्रृङ्खलामा २–० को अग्रता बनाएको छ।

कुकले ३१ वर्ष १५७ दिनमा उक्त सफलता हात पारे। यसअघि उक्त रेकर्ड भारतीय खेलाडी सचिन तेन्दुलकरको नाममा थियो। सचिनले ३१ वर्ष ३२६ दिनमा १० हजार रन पूरा गरेका थिए। सचिनले १९६ इनिङमा उक्त सफलता हात पार्दा कुकलाई भने २२६ इनिङ कुर्नुपर्‍यो।

यस्तै कुक इंगल्याण्डबाट टेस्टमा १० हजार रन पूरा गर्ने पहिलो खेलाडी समेत बनेका छन् भने समग्रमा १२ औं खेलाडी। वर्तमान समयमा टेस्ट खेलिरहेको खेलाडी मध्ये १० हजार रन क्लबमा रहेको कुक एक्ला खेलाडी हुन्। कुक भन्दा एक स्थान अगाडि रहेका भारतका सुनिल गावस्करको १० हजार १ सय २२ रन छ। गावस्कर नै टेस्ट क्रिकेटमा १० हजार रन पूरा गर्ने पहिलो खेलाडी थिए।

टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको रेकर्ड भने तेन्दुलकरको नाममा छ। उनले १५ हजार ९ सय २१ रन बनाएका छन्। १० हजार पूरा गर्नेमा भारत र अष्ट्रेलियाका ३/३ खेलाडी छन् भने वेष्ट इन्डिज र श्रीलंकाका २/२ तथा दक्षिण अफ्रिका र इंगल्याण्डका १/१ छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell