PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

५१ प्रतिशत नेपालीको मृत्युको कारक धुम्रपान



रमेश वाग्ले

५१ प्रतिशत नेपालीको मृत्युको कारक धुम्रपान

भक्तपुर :  नेपालमा बर्सेनि ७ हजारलाई क्षयरोगी र २७ हजारलाई क्यान्सर रोगी बनाउने सुर्ती र धुम्रपानकै कारण वर्षमा १५ हजार नेपालीको मृत्यु हुने गरेको छ।
 
सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन कार्यान्वयनमा सरकारी उदासिनता र सेवनकर्ताको हेलचेक्र्याइँकै कारण हरेक वर्ष करिब १० अर्ब रुपैयाँभन्दा बढी धुवाँमा उड्ने गरेको छ।
 
आन्तरिक राजस्व कार्यालयका अनुसार सरकारले सालाखाला बर्सेनि ५ अर्ब रुपैयाँ सुर्तीबाट कर उठाउने गरेको छ। एक अध्ययनअनुसार सुर्तीकै कारण हुने नसर्ने रोगको उपचारमा १५ अर्बभन्दा बढी खर्च हुन्छ। सरकारले गत शनिबार घोषणा गरेको आर्थिक वर्ष २०७३/७४ को बजेटले चुरोटमा ८ देखि १५ प्रतिशतसम्म कर वृद्धि गरेको छ भने बिँडी र सुर्तीमा १२ प्रतिशत कर बढाएको छ।

 
तथ्य के भन्छ

डेमोग्राफिक हेल्थ सर्भे २०११ अनुसार ५२ प्रतिशत पुरुष र १३.३ प्रतिशत महिला सुर्तीजन्य पदार्थ सेवन गर्छन्। पुरुषमध्ये ३० प्रतिशतले चुरोट र ३८ प्रतिशत सुर्ती (खैनी, पराग) सेवन गर्छन्। महिलामध्ये ९ प्रतिशतले चुरोट र ६ प्रतिशतले सुर्ती (गुट्खा, पानपराग) सेवन गर्ने गरेका छन्।
स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल भक्तपुरकी संयोजक रत्नश्वरी चवालले नेपालका ५ प्रतिशत गर्भवती र ७ प्रतिशत बच्चालाई दूध खुवाउने महिलाले चुरोट खाने गरेको बताए। ४ प्रतिशत गर्भवती र ६ प्रतिशत दूध खुवाउने महिला सुर्तीको नशामा छन्।
५१ प्रतिशतभन्दा बढी नेपालीको मृत्यु सुर्ती सेवनका कारण उत्पन्न हुने नसर्ने रोगबाट हुने गरेको चावल बताउँछिन्। दम, खोकी, क्यान्सर, मुटुरोग जस्ता नसर्ने रोगको कारण सुर्ती सेवन भएकाले यसलाई न्युनीकरण गर्न सरकारी र जनस्तरबाट अभियान चलाउनुपर्ने उनको भनाइ छ।
 

कस्ता छन् चेतनाका कार्यक्रम

विश्व धुम्रपानरहित दिवसको अघिल्लो दिन सोमबार भक्तपुरको कमलविनायकमा जनजागरण अभियान चलाइयो।
 
सुर्तीले जनस्वास्थ्यमा पार्ने नकारात्मक असरबारे जनचेतना अभिवृद्धि गर्ने, पाठ्यपुस्तकमा सुर्तीजन्य पदार्थ, क्षयरोग, क्यान्सर लगायतका रोग लाग्छ भन्ने सचेतनामूलक शिक्षा दिनुपर्ने स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल संयोजक रत्नश्वरी चवाल बताउँछिन्।
नेपाल अर्वुद रोग निवारण संस्था भक्तपुरका उपाध्यक्ष विवेकमान कर्माचार्यले ९८ प्रतिशत युवा र करिब ९५ प्रतिशतलाई धुम्रपानबाट हुने हानिबारे जानकारी रहेको बताए।
 
जनजागरण अभियानमा सरिक नेपाल स्काउटका पूर्वसचिव रामगोपाल कर्माचार्यले देश विकासका साझेदार युवाहरु नै लागुपदार्थको दुर्व्यसनी भइदिए उनीहरुको कार्य क्षमतामा ह्रास आउने भएकाले जागरण र कारबाही अभियान सँगसँगै लानुपर्ने खाँचो औंल्याए।
स्वास्थ्यकर्मी धनमान श्रेष्ठले सुर्ती सेवनले प्रजनन् स्वास्थ्यमा समेत असर गर्ने, शरीरको स्वरुप बिग्रिने, छालामा चमक हट्दै चाउरी पर्नेजस्ता हानिबारे थाहा दिँदै चेतना बढाउनुपर्नेमा जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell