PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

​बजेट 'लिक' छानबिन गर्न कांग्रेस सांसदको नेतृत्वमा ९ सदस्यीय समिति



पहिलोपोस्ट

​बजेट 'लिक' छानबिन गर्न कांग्रेस सांसदको नेतृत्वमा ९ सदस्यीय समिति

काठमाडौं :  संसदमा बजेट पेश हुनुअघि नै त्यसको महत्वपूर्ण सूचना सार्वजनिक भएकोबारे अध्ययन गर्न संसदीय छानबिन विशेष समिति गठन गरिएको छ।

मंगलबारको संसद बैठकले संसदीय छानबिन विशेष समिति गठन गर्नेबारे एमाले प्रमुख सचेतक भानुभक्त ढकालको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

ढकालले छानविनका लागि कांग्रेस सांसद रमेश लेखकको संयोजकत्वमा अन्य ८ सदस्यीय समिति गठनको प्रस्ताव गरेका थिए। समितिले बजेट संसदमा प्रस्तुत हुनुअघि नै राजस्व र ब्ययको आर्थिक अनुमानमा अन्तरनिहित कतिपय तथ्याङ्क पत्रपत्रिकामा प्रकाशन भएको भन्ने बारे वास्तविकता पत्ता लगाइ प्रतिवेदन पेश गर्ने र सुझाव दिने कार्यादेश पाएको छ। समितिको अवधि तीन महिना १५ दिन तोकिएको छ।

विशेष समिति गठन गर्ने ढकालको प्रस्तावलाई कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले समर्थन गरेका थिए।

समितिलाई विगतमा बजेट लिक भएका विषयमा समेत अध्ययन गरि भविष्यमा यस प्रकृतिका कार्य दोहोरिन नदिन उपाय सुझाउन समेत भनिएको छ। 

छानबिन समिति गठन भएपछि नेपाली कांग्रेसले सदन अवरोध फिर्ता लिएको छ। मंगलबारदेखि बजेटमाथि छलफल प्रारम्भ भएको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सत्तारुढ दलहरु छानबिन समिति गठन गर्न सहमत भएपछि सदन अवरोध फिर्ता लिइएको जानकारी दिए।

प्रतिपक्षी नेपाली कांग्रेसले बजेटको गोपनीयता भंग गरेर सरकारले सदनको विशेषाधिकार हनन गरेको भन्दै सोमबार चार पटक संसद अवरोध गरेपछि बैठक मंगलबारलाई सारिएको थियो। उसले बजेट लिकबारे छानबिन गर्न समिति गठन गर्नुपर्ने माग गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell